१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

जीतपुरसिमरामा असन्तुष्ट समुहलाई फेरि अर्को झट्का, रोकीयो हाकिम फेर्ने रणनीति



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या ६६६
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ अल्पकालीन अन्तरिम आदेश आदेश जारी गरेको छ ।

    जीतपुर उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधवार अल्पकालीन आदेश जारी गरेको हो । उपसचिव एवं प्रमुख प्रशासकीय अधिकृत काफ्लेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र उपसचिव चेत कुमार पोखरेललाई विपक्षी बनाइ मंगलबार रिट दायर गरेकी थिइन् ।

    मापदण्ड विपरीत सरुवा गरेको भन्दै काफ्ले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उपसचिव काफ्लेले गत वैशाख २८ मा जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । जिम्मेवारी सम्हालेको साडे दुई महिना नपुग्दै उनलाई सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयले उपसचिव चेत कुमार पोखरेललाई जीतपुरसिमरामा खटाएको थियो । उनीहरूको सरुवा साउन ३ मा भएको थियो ।

    उपमहानगरपालिकाको १० औँ नगर सभामा प्रमुख प्रशासकीय अधिकृत काफ्ले खेलेको भूमिकालाई लिएर असन्तुष्ट जनप्रतिनिधिको समूहले सत्ताको आडमा काफ्लेको सरुवा गराएका थिए । काफ्लेको सरुवा विरुद्ध नगरप्रमुख राजन पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै निर्णय बदर गराउन माग गरेका थिए ।