२३ जेठ २०८२ बिहिबार | 05 Jun 2025 Thu

एक महिनामा तेश्रो पटक मागेकी थिइन् डिएसपीले डिजेल



  • नयाँ इतिहास
  • ३ दिन अघि
  • पाठक संख्या १७०२
  • सिमरा : ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी प्रमुख डिएसपी शुभद्रा वाईवाले जीतपुरसिमरा उपमहानगरपालिकासंग एक महिनाको अन्तरालमा तेश्रोपटक डिजेल मागेको खुलेको छ । 

    आफुले १०० लिटर डिजेल माग्दा नदिएको भन्दै आइतबार जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सहसचिव शान्तिराज प्रसाँईको कार्यकक्षमै बबण्डर मच्चाउन पुगेकी डिएसपी वाईवाले वैशाख १० यता दुईपटकसम्म १०० लिटरका दरले डिजेल लिईसकेको र तेश्रोपटक पनि डिजेल मागेपछि उपमहानगरपालिकाले २० लिटर डिजेल र १० लिटर पेट्रोल उपलव्ध गराएको खुलेको छ ।  

    गत वैशाख १० गते उपमहानगरपालिकाबाट १०० लिटर डिजल लिएकी डिएसपी वाईवाले जेठ महिनाभरीका लागि भन्दै वैशाख ३१ गते फेरि १०० लिटर डिजेल ल्याएकी थिइन् । तर जेठ १८ गते फेरि १०० लिटर मागेपछि उपमहानगरपालिकाले २० लिटर डिजेल र १० लिटर पेट्रोल उपलव्ध गराएको पाईएको छ । 

    आफ्नो कार्यकक्षमा बसिरहेका सहसचिव प्रसाँईलाई डिएसपी वाईवाले आइतबार आफुलाई मागेको भन्दा कम इन्धन पठाएको विषयमा अशोभनीय शब्दहरु प्रयोग गरी आक्रोश व्यक्त गरेकी थिइन् । सो विषयमा उपमहानगरपालिकाले सोमबार जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दै डिएसपीले गरेको व्यवहार र वैशाख–जेठमा ईलाका प्रहरी कार्यालय सिमरालाई उपलब्ध गराएको इन्धनका विषयमा लिखित जानकारी गराएको छ । 

    उपमहानगरपालिकाले आफ्नो स्वीकृत बजेटबाट उपमहानगरपालिका भित्रका प्रहरी कार्यालयहरुलाई स्रोतले भ्याएसम्मको सहयोग उपलब्ध गराउने गरेको समेत खुलाएको छ । उपमहानगरपालिका स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय सिमरा सहित उपमहानगरका विभिन्न प्रहरी कार्यालयहरुलाई वैशाख र जेठ महिनामा मात्र ५ सय ८० लिटर इन्धन सहयोग स्वरुप उपलब्ध गराएको छ । जसमध्य आइतबार ईलाका प्रहरी कार्यालय सिमरालाई उपलब्ध गराएको २० लिटर डिजेल र १० लिटर पेट्रोलको कुपन भने डिएसपी वाईवाले प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा च्यातेर फ्याँकेकी थिइन् । 

    यो पनि पढ्नुहोस् : तेलको कुपन कम दिएको भन्दै सहसचिब सामु सिमराकी डिएसपी शुभद्राको ताण्डब