२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

जीतपुरसिमरामा फेरि लफडा शुरु : मेयर पौडेलले कार्यपालिका बैठकमै मागे चयन गुरुङको राजीनामा



  • नयाँ इतिहास
  • १ हप्ता अघि
  • पाठक संख्या २३४२
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर र इतर समुहविचको लफडा फेरि बल्झिन थालेको छ । 

    गत असारमा सम्पन्न दशौं नगर सभाको विवाद अदालतसम्म पुगेर साम्य भएपछि केहि समय शान्त बनेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आइतबार फेरि लफडा भएको छ । 

    जीतपुरसिमरा उपमहानगरका मेयर राजन पौडेलले सामाजिक विकास समितिकि संयोजक रहेकी जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङलाई आइतबारको कार्यपालिका बैठकमै  सामाजिक विकास समितिको जिम्मेवारीबाट राजीनामा दिन भनेपछि कार्यपालिका बैठकस्थल अशान्त बनेको थियो । 

    एक कार्यपालिका सदस्यका अनुसार उपमहानगरले बनाएको विषयगत समितिहरुलाई जिम्मेवारी नदिइएको विषयमा सामाजिक विकास समिति संयोजक गुरुङले प्रश्न गरेपछि मेयर पौडेलले गुरुङको राजीनामा मागेका थिए । 

    कार्यपालिका बैठकमा मेयरले आफ्नो राजीनामा मागेको विषय वडाध्यक्ष गुरुङले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ आएर समेत बताएकी छन् । ‘आज मेयर साबले मलाई सामाजिक विकास समितिको जिम्मेवारीबाट राजीनामा दिन भन्नुभएको छ, म भोली लिखित रुपमा राजीनामा बुझाउँछु’ वडाध्यक्ष गुरुङले फेसबुक लाइभमा भनेकी छन् । 

    महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा वडालाई एउटा ब्यानर बाहेक केहि नदिईएको, महिला लक्षित कार्यक्रमहरु कटौती गरिएको, सामाजिक विकास समिति संयोजकका हैसियतले आफुले सारेका राम्रा कार्यक्रमहरुलाई मेयरले पुर्वाग्रह राखेर कार्यान्वयन गर्न नदिएको लगायतका आरोप वडाध्यक्ष गुरुङले फेसबुक लाइभ मार्फत लगाएकी छन् । 

    फेसबुक लाइभमा वडाध्यक्षले लगाएका आरोपबारे मेयर पौडेलको धारणा बुझ्न हामीले बेलुकी ७ः५७ बजे टेलिफोन सम्पर्क गर्दा मेयर पौडेलको मोबाइल स्विच अफ रहेको छ ।