सिमरा : होलीमा कालोबजारी गर्ने तीन मासु पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शुक्रबार विहान गरेको छड्के अनुगमनका क्रममा खसीको अण्डकोष टाँसेर बाख्रीको मासु विक्री गरेको पाईएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका तीन मासु पसल सञ्चालकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरबजारमा रहेको मुस्कान मासु पसलका सञ्चालक अहमुल्लाह देवान र प्रवेज मासु पसलका सञ्चालक रफिक देवान रहेका छन् । यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरा बजारमा रहेको शेष अयुब सिमरा मिट हाउसका सञ्चालक शेष ओहानलाई पक्राउ गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छवीरमण भट्टराईले जानकारी दिए ।
पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । ‘पक्राउ परेका तीनैजना ईप्रका सिमराको नियन्त्रणमा छन्, होलीपछि म्याद थप गरी अनुसन्धान अघि बढाउँछौं’ इप्रका सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले भनिन् ।
मासुको अत्यधिक माग हुने भएकोले होलीका बेला मासु पसलहरुले कालोबजारी गर्ने गरेको गुनासो आएपछि बाराका प्रजिअ अधिकारी शुक्रबार विहानै अनुगमनमा निस्केका थिए । कलैया, पर्सौनी, परवानीपुर र जीतपुरसिमराका मासुपसलहरु अनुगमन गर्ने क्रममा तीनजना मासुपसलेलाई नियन्त्रणमा लिई पसल बन्द गराईएको जिल्ला प्रशासन कार्यालय बाराका प्रवक्ता समेत रहेका सहायक प्रजिअ भट्टराईले बताए ।
पक्राउ परेका तीनैजनाले मासु पसलको बाहिर खसीको मासु झुण्ड्याएर भित्र बाख्री काटेर राखेको पाईएको छ । ‘खसीको अण्डकोष समेत झिकेर बाख्रीको मासुमा टाँस्ने तयारी गरिरहेका थिए’ सहायक प्रजिअ भट्टराईले भने ।
सिमराको शेष अयुब फ्रेस हाउसले खसीको मासुमा मिसाएर बाख्रीको मासु बेचिरहेको पाईएको छ । ‘सिमराको शेष अयुब मासु पसलले भित्र बाख्रीको मासु राखेर बाहीर खसीको मासुमा मिसावट गरी बेचिरहेको पाईयो’ सहायक प्रजिअ भट्टराईले भने ।
पक्राउ परेकाहरुलाई कालोबजारी ऐन अनुसार कारवाही अघि बढाइने सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस