सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविच सम्पन्न मैत्रीपुर्ण फुटबलमा कर्मचारीको टिम विजयी भएको छ ।
जनप्रतिनधिको टिममाथी ३–१ को जित निकाल्न सफल कर्मचारी टिमका लागि सुधन चौधरीले २ तथा रामकृष्ण श्रेष्ठले १ गोल गरेका थिए । चौधरी उपमहानगरको योजना शाखा प्रमुख हुन् भने श्रेष्ठ नगर प्रमुख राजन पौडेलका स्वकीय सचिव हुन् । जनप्रतिनिधिको टिमका लागि शेखरकाजी रुम्बाले गोल फर्काएपनि टिमको हार टार्न सकेनन् । रुम्बा वडा नम्बर २२ का अध्यक्ष हुन् ।
गणतन्त्र दिवसका अवसरमा विहिबार साँझ सिमरा रङ्गशालामा सम्पन्न मैत्रीपुर्ण प्रतियोगितामा जनप्रतिनिधिको टिम नगर प्रमुख राजन पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको थियो भने कर्मचारीको टिम प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँईको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी कर्मचारी टिमका सुधन चौधरी र जनप्रतिनिधि टिमका अमन लामा घोषित भए । लामा वडा नम्बर १ का सदस्य हुन् । विजेता टिमलाई नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले संयुक्त रुपमा ट्रफि प्रदान गरेका थिए ।
खेलका अफिसियलहरु कृपा चौधरी, राजेश पुन, राजेश जोशी लगायतलाई नगर प्रमुख पौडेल, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रसाँई, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायतले मायाको चिनो प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस