सिमरा : बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँबस्तीमा रहेको अव्यवस्थित बस्ती व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुका विचमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस बारा क्षेत्र नम्बर २ का युवा नेता तथा कोल्हवी ८ का पुर्व वडाध्यक्ष सार्थक पौडेलको अगुवाईमा भूमि आयोग बाराका अध्यक्ष भरतबहादुर घले सहितका सरोकारवालाहरुका विचमा अन्तरकृयाको आयोजना गरिएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा कोल्हवी ८ मा वडाध्यक्ष निर्वाचित भएका बेला युवा नेता पौडेलले आफ्नो वडा भित्रका करिब ५ सय धुरी अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि अथक मेहनत गरेका थिए ।
पटक–पटक भूमि आयोग गठन हुने र बसोबास व्यवस्थापनको काम नटुंगिने समस्या ४७ बर्षदेखि झेल्दै आएका वडाबासीलाई गरेको बाचा बमोजिम आफू हाल पदमा नरहेपनि जनताप्रतिको उतरदायित्व नविर्सेको युवा नेता पौडेल बताउँछन् । ‘म हाल कुनै पदमा नरहेपनि जनताका माझमा छु, मैले हिजो गरेको काम अधुरो छ, त्यसलाई टुंग्याएर वडाबासीको हातमा जग्गाधनी पुर्जा सहितको व्यवस्थापन गर्नु मेरो दायित्व हो’ युवा नेता पौडेलले भने ।
२०७४–२०७९ सम्मको पाँचबर्षे कार्यकालमा जग्गा नापजाँचका काम गरिसकिएकाले बर्तमान आयोगले अब वडाबासीलाई नतिजा दिनुपर्ने युवा नेता पौडेलको माग छ । भूमि आयोग बाराका अध्यक्ष भरतबहादुर घलेलाई कोल्हवी ८ का समस्या तत्काल समाधान गर्ने गरी काम अघि बढाउन समेत पौडेलले आग्रह गरे ।
कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, पुर्व नगर प्रमुख भरतबहादुर भण्डारी, नेपाली काँग्रेस बाराका युवा नेता श्यामबाबु गुप्ता, नेकपा माओबादी केन्द्रका नेता देवेन्द्र पराजुली, नगर सचिव लिलाबहादुर बस्नेत, मधेश प्रदेशकी पुर्व समानुपातिक प्रदेश सभा सदस्य शोभा लामा, युवा नेता शेखर भण्डारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम कोल्हवी ८ का वडाध्यक्ष अनुप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस