२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सडक निर्माणमा ढिलाई भएको विषय उठाउने सांसदको गाडी सोही सडकमा दुर्घटना



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या २७२४
  • सिमरा : बारा ३ की प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह चढेको गाडी कलैया नजिक दुर्घटना हुँदा साह सहित उनका श्रीमान् र अंगरक्षक घाइते भएका छन् । 

    शुक्रबार साँझ पार्टीको बैठक सकेर कलैयाबाट पिलुवामा रहेको घर तर्फ फर्कने क्रममा पूर्वमन्त्री समेत रहेकी साह चढेको बा २५ च ४४८२ नम्बरको कार कलैया उपमहानगरपालिका ४ स्थित निर्माणाधीन सडकमा दुर्घटना भएको हो । 
    दुर्घटनामा परी मन्त्री साहको टाउकोमा चोट लागेको छ । उनका श्रीमान् समेत रहेका एमाले बाराका सचिब अमृत शर्मा बजगाँइको घाँटी र टाउकोमा चोट लागेको छ । अंगरक्षक प्रकाश केसी सामान्य घाइते भएका छन् । 

    वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारपछि सबैजना घर फर्किएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा स्थित घरमा अहिले सबैजना आराम गरिरहेको तथा पाँच दिनका लागि संगठनका सबै कार्यक्रम तथा व्यक्तिगत भेटघाट समेत बन्द गरिएको सांसद साहले जानकारी दिईन् । ‘म लगायत सबैजनाको अवस्था सामान्यनै छ, भगवानको कृपाले केहि भएन, डाक्टरले पाँच दिन आराम गर्न भन्नुभएको छ’ सांसद साहले भनिन् ।

    पूर्वमन्त्री साह चढेको गाडी दुर्घटना भएको मानमत–मटिअर्वा सडक खण्ड अन्तर्गत पर्छ जुन सडक निर्माणमा ढिलाई भएको विषयमा उनले गत माघ २४ गतेको संसदमा आवाज समेत उठाएकी थिइन् । पूर्व मन्त्री साहकै निर्वाचन क्षेत्रमा पर्ने मानमत–मटिअर्वा सडक निर्माणमा भइरहेको ढिलाई बारे उनले पटक–पटक आवाज उठाएपनि ठेकेदार कम्पनीको अटेरीका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।

    पूर्व मन्त्री साह चढेको गाडी दुर्घटनामा निर्माण कम्पनीको चरम लापरवाही देखिएको छ । सडक निर्माणका क्रममा काटिएको फलामको विजुलीको पोल नउखेली सडकमै छाडिएको र त्यसमै अल्झिएर गाडी दुर्घटनामा परेको मन्त्री साहका अंगरक्षक प्रकाश केसीले बताए । ‘साँझको समय थियो, सडकमा काटेर छाडिएको पोलको ठुटोमा अल्झिएर कार दुर्घटना भयो’ केसीले भने । 

    दुर्घटना भएको पुर्व मन्त्री साहको नीजि कारमा क्षती पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि तत्कालै हस्पिटल पुगेको र वहाँहरु उपचारपछि घर फर्किएको बारा प्रहरीले जनाएको छ ।