६ जेठ २०८२ सोमबार | 19 May 2025 Mon

दश बर्ष सम्म किन बनेन कलैयाको तीन किलोमिटर सडक ?



  • नयाँ इतिहास
  • ४ दिन अघि
  • पाठक संख्या १४९
  • प्रकाश लम्साल

    बारा :  एक दशकदेखि चौतर्फी दबाब हुँदासमेत बारामा पर्ने हुलाकी मार्ग आयोजनाअन्तर्गत कलैया चोकको उत्तर–दक्षिणमा पर्ने तीन किलोमिटर चार लेनको सडक बन्न नसकेर अलपत्र परेको छ । आयोजनाको पिलुवादेखि मटिअर्वा भन्सार कार्यालयसम्म जोडिएको २६ मध्ये २३ किलोमिटर सडक निर्माण पूरा भएपनि कलैया चोकको बाँकी ३ किलामिटर सडक बन्न नसकेर लथालिंग बनेको छ ।

    सडक बनाउन भत्काइएका घरका भग्नावशेस पन्छाइएको छैन भने माटो, इटा, बालुवा त्यत्तिकै छाडिएको छ । सडक किनारामा नाला काटेर जथाभावी माटो थुपारिए पछि सदरमुकाम नै धुलाम्मे बनेको छ । बुधबार ब्लड बैंक कलैयाको भवनको उद्घाटन समारोहमा उपस्थित उप–राष्ट्रपति रामसहायप्रसाद यादव तथा स्थानीयबासीबीच बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले तीन किलामिटर सडक दस वर्षदेखि अलपत्र बन्नुको कारण सरकारसँग सोधेर र निर्माण कार्य अघि बढाउन पहल गरिदिन आग्रह गरे ।

    हुलाकी मार्ग आयोजना अन्तर्गत २०७१ सालमा भारतीय कम्पनी भिस्वा कन्ट्रक्सनले निर्माण कार्य अधुरै छोडेर बेपता बने पछि सरकारले २०७९ पुससम्म सम्पन्न गर्ने गरी सप्तकोशी जलाधार र ओम साई एण्ड कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । संसदको सार्वजनिक लेखा समितिको अनुगमन र ठेकेदार कम्पनीसहित हुलाकी आयोजनाका अधिकारीलाई निर्देशन दिए पनि सबै पक्षबाट अटेर भएको सांसद किसान श्रेष्ठले बताए ।

    एक दशकदेखि चौतर्फी दबाब दिँदासमेत सरकारले बेवास्ता गरेको र स्थानीयको दबाब थेग्न नसकेको भन्दै गत महिना कलैया उपमहानगरका प्रमुख विनोद साहले जनप्रतिनिधिसहित आमरण अनसनमा बस्ने बताएका थिए । साहको घोषणा लगतै प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको अनुगमन टोलीले शुक्रबार स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गराउन सरकारलाई निर्देशन दिने थप आश्वासन दिएको थियो ।

    गत वैशाखमा सार्वजनिक लेखा समितिका सांसदहरु प्रदीप यादव, अमरेशकुमार सिंह, देव तिमल्सिनालगायतले सडकको अनुगमन गरेको थियो । २२ करोड ३१ लाख रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता भएको चार लेनको कालोपत्रे सडकसहित दुवैतर्फ नाला, ढलान, पैदलमार्ग फुटपाथ बनाउनुपर्ने उल्लेख छ । सो सडक खण्ड निर्माण सम्पन्न गर्नका लागि २०८१ फागुन २९ सम्म समयसिमा तोकिएकोे हुलाकी मार्ग आयोजना वीरगन्जले जनाएको छ ।

    हुलाकी मार्ग आयोजनाका सूचना अधिकारी धमेन्द्र दासले निर्माण कम्पनीकै चरम लापरवाहीका कारण निर्माण कार्यमा अपेक्षित प्रगति नभए पछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको जानकारी दिए । लामो समयसम्म मुआब्जा विवाद, साइट क्लियरेन्स नहुनु, अदालती प्रक्रिया, ठेकेदार सम्पर्कविहीन रहेपछि सडक निर्माण पूरा हुन दशक लागेको कार्यालयले जनाएको छ ।