२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सुनील गुप्तालाई सात दिन हिरासतमा राख्न अनुमती, थप १० जना विरुद्ध पक्राउ पुर्जी



  • नयाँ इतिहास
  • ३ हप्ता अघि
  • पाठक संख्या २९६८
  • सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष सुनील गुप्तालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराले प्रहरीलाई अनुमती दिएको छ । 

    चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज गरेको आरोप गुप्तामाथी लागेको छ । राती ९ः३० बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो । 

    लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् । 

    शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो । बारा क्षेत्र नम्बर ४ का सांसद तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठले सोमबार संसदमा समेत यहि विषय उठाएपछि बारा प्रहरी थप दबाबमा परेको छ । 

    प्रहरी स्रोतका अनुसार बारा प्रहरीले सो घटनामा संलग्न थप १० जनालाई पक्राउ गर्न बारा जिल्ला अदालतबाट अनुमती लिएको छ । यद्यपी उनीहरुको नाम गोप्य राखिएको छ ।

    जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष गुप्ता आपराधिक उपद्रव मुद्दामा पक्राउ परेको यो दोश्रोपटक हो । अघिल्लो बर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर छिरेका गुप्तामाथि आपराधिक उपद्रवको मुद्दा लागेको थियो । बारा जिल्ला अदालतबाट दोषी ठहर भएर उच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै वडाध्यक्ष गुप्ता दोश्रो पटक उस्तै प्रकृतीको मुद्यामा पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङका अनुसार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर वडाध्यक्ष गुप्तालाई हिरासतमा राखिएको छ । आइतबार पक्राउ परेका गुप्तालाई सोमबार प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको थियो ।