नयाँ इतिहास संवाददाता
फेटा (बारा) : बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ सोमबार फेटा गाउँपालिका–४ स्थित बतरा गाउँ पुगेका छन्। चोकट पासवानकी छोरी रिना पासवानको मंगलबार हुने विवाहको पूर्वसन्ध्यामा शुभकामना दिन सांसद श्रेष्ठ पासवान परिवारको घर पुगेका हुन्।
दलित समुदाय अन्तर्गत पर्ने विपन्न परिवारको घरमा पुगेर सांसद श्रेष्ठले रिनालाई वैवाहिक जीवनको शुभकामना दिएका थिए। जनताको सुखदुःखमा साथ रहने प्रतिबद्धता चुनावका बेला जनाएका सांसद श्रेष्ठले आफूलाई जिताउने मतदाताको जीवनका महत्वपूर्ण अवसरमा सहभागी हुनुलाई आफ्नो कर्तव्यको रूपमा व्याख्या गरे।
“जनतासँगको सम्बन्ध मतको मात्रै होइन, सम्वेदनाको पनि हो,” सांसद श्रेष्ठले भने, “यस्ता पारिवारिक अवसरहरूमा सहभागी हुँदा जनप्रतिनिधिको भूमिकालाई व्यवहारिकरूपमा देखाउने मौका मिल्छ।”
“जनताको सानो ठुलो हरेक खुसी र पीडामा साथ दिनु मेरो कर्तव्य हो,” सांसद श्रेष्ठले भने, “म जनताको प्रतिनिधि हुँ, उनीहरुको विश्वासको सम्मान गर्नु मेरो धर्म हो।”
हाल संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको बेला पनि उनले संसदभन्दा जनताको सानोतिनो सुख–दुःखलाई प्राथमिकता दिएका छन्। यसले जनप्रतिनिधिको भूमिकालाई नयाँ परिभाषा दिएको छ। “सांसद बन्नु केवल संसद जानु होइन, जनताको जीवनमा संलग्न हुनु हो,” उनी भन्छन्, “यो मेरो दायित्व हो, केवल औपचारिकता होइन।”
स्थानीय बासिन्दाहरू सांसद श्रेष्ठको यो कदमबाट हर्षित छन्। सांसद श्रेष्ठ नियमित रूपमा आफ्नो क्षेत्रका अन्त्येष्टि, पूजापाठ, विवाहजस्ता पारिवारिक तथा धार्मिक कार्यक्रमहरूमा उपस्थित भइरहन्छन्। “जनतासँगको नाता मतको मात्रै होइन, मनको पनि हो,” सांसद श्रेष्ठ थप्छन्।
छोरीको विवाहमा सांसद आएपछि चोकटले खुशी हुँदै भने, “धेरै चुनाव देख्यौं, धेरै सांसद भोट दिएर पठायौं, तर गरीबको घरमा आएर खुशी साट्ने यो पहिलो माननीय हुन्। हामी कृतज्ञ छौं।”
सांसद श्रेष्ठको उपस्थिति केवल औपचारिकता नभई जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि बनेको छ। यसले मतदाताहरूसँगको आत्मीय सम्बन्ध अझ बलियो बनाएको स्थानीयको प्रतिक्रिया छ।
राजनीति केवल नीतिको होइन, नाताको पनि हो भन्ने सन्देश दिने सांसद श्रेष्ठको यस्तो कदमले जनप्रतिनिधि र जनताको दूरी घटाउने दिशामा महत्वपूर्ण योगदान दिएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस