२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

१११ विद्यालय रहेको जीतपुरसिमराको बक्तृत्वकलामा ३ जनामात्रै सहभागी



  • १ बर्ष अघि
  • पाठक संख्या २१००
  • नारायण पौडेल
    सिमरा :
     ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा जम्मा ३ विद्यार्थी मात्र सहभागी भएका छन् । 
    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका २ र नेरामावि बकुलियाका १ विद्यार्थी बाहेक अन्य विद्यार्थीको सहभागिता कार्यक्रममा रहन सकेन । माध्यमिक तहका १६ सहित उपमहानगरपालिकामा ६१ सामुदायिक विद्यालय रहेका छन् । यस्तै उपमहानगरमा रहेका ५० नीजि विद्यालय मध्य २५ वटा विद्यालयमा माध्यमिक तह सञ्चालनमा छन् । 
    उपमहानगरपालिका भित्रका महिला अगुवा सहित प्रदेश सांसद मञ्जु थापामगरको प्रमूख आतिथ्यतामा तामझामका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीलाई पुरस्कार बाँड्ने बेला कार्यक्रमको सहजकर्ताका रुपमा उपस्थित उपमहानगरकी अधिकृत दुर्गा न्यौपानेले कार्यक्रममा सान्त्वना पुरस्कार पनि राखिएको तर तीनजना विद्यार्थी मात्रै सहभागी भएकाले सो खर्च जोगिएको तर्क गरिन् । ‘हामीले सान्त्वना पुरस्कार पनि राखेका थियौं तर तीनजना मात्र विद्यार्थी आएकाले हाम्रो खर्च जोगिएको छ’ न्यौपानेको भनाई थियो । 
    कार्यक्रम सञ्चालनका क्रममा अधिकृत न्यौपानेले सो कार्यक्रममा तीनजना मात्रै विद्यार्थी उपस्थित हुनुलाई सामान्य रुपमा प्रस्तुत गर्न खोजेपनि उपमहानगरपालिकाको गम्भीर लापरवाही तथा कार्यक्रमको फितलो व्यवस्थापन भने बाहिर आएको छ ।
    कार्यक्रमको संयोजन गरेको उपमहानगरको महिला, बालबालिका जेष्ठ नागरिक तथा समावेशी शाखा प्रमुख न्यौपानेका अनुसार कार्यक्रममा उपमहानगरका चारवटा क्याम्पसलाई दुई–दुईजना प्रतियोगी विद्यार्थी पठाइदिन पत्राचार गरिएको थियो । विद्यालयको हकमा भने शिक्षिकाहरुलाई मात्र कार्यक्रममा सहभागी हुन भनिएको थियो । तर  क्याम्पसले सहभागी नपठाएपछि नेरामावि सिमराका शिक्षिकाहरुसंग कार्यक्रममा गएका विद्यार्थी र बकुलीया स्कुलका एकजना विद्यार्थी सहभागी गराएर कार्यक्रम सम्पन्न गरिएको हो ।

    घटनाका विषयमा सो कार्यक्रमको अध्यक्षता गरेका उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारीले भने कर्मचारीको त्रुटीका कारण कार्यक्रममा त्यसो हुन गएको बताए । उपप्रमुख अधिकारीका अनुसार ‘अन्तर्राष्ट्रिय नारी दिवस : आजको आवश्यक्ता र अवस्था’ विषयक सो वक्तृत्वकला प्रतियोगिता उपमहानगर भित्रका चारवटा क्याम्पसका २–२ विद्यार्थी सहभागि गराउने गरी तय भएको थियो तर पत्राचार गर्ने शाखाले विद्यालयलाई पत्र पठाएकाले सहभागिता फितलो भएको हो । ‘हामीले अन्तर क्याम्पस प्रतियोगिता गर्न खोजेका थियौं, पत्र पठाउँदा मिस्टेक भएर विद्यालयलाई गएछ त्यसकारण यस्तो भएको हो’ उपप्रमुख अधिकारीले भने । घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै अधिकारीले आगामी दिनमा त्यसो हुन नदिन सचेत रहने बताए ।
    विद्यार्थी सहभागी गराउने कार्यक्रमको व्यवस्थापनमा उपमहानगरको लापर्वाही कार्यक्रमको ब्यानरमै झल्किएको थियो । कार्यक्रमको मुख्य विषय बक्तृत्वकलाकै लेखाईमा चरम लापर्वाही झल्कन्थ्यो । बक्तृवकलालाई बक्तित्वकला बनाएको उपमहानगरको ब्यानरमा अन्तर्राष्ट्रिय माध्यमिक जस्ता सामान्य शब्दमा पनि ध्यान पु¥याईएको थिएन । 

    उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले कार्यक्रमको तयारीका विषयमा आफुले पूर्व जानकारी लिन नपाएको र कार्यक्रममा उपस्थित भएपनि कार्यक्रमको डिजाइनबारे जानकारी नभएको बताए । ‘कार्यक्रमको तयारी सम्बन्धित शाखाले गरेकाले थप विषय मलाई थाहा हुन सकेन’ प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले भने ।

    सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारीले उपमहानगरपालिकाबाट बक्तृत्वकला प्रतियोगितामा विद्यार्थी सहभागिताका लागि कुनै पत्र प्राप्त नभएको जानकारी दिए ।