२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

व्यवस्थित बन्दै जीतपुरसिमराका ग्रामीण बजार :  फतेपुरमा ३ करोडको योजना शुरु



  • नयाँ इतिहास
  • १८ घण्टा अघि
  • पाठक संख्या १३८
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १२ स्थित फतेपुर बजारको शिलान्यास गरिएको छ ।

    बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बुधबार विहान आधुनिक फतेपुर बजार निर्माण कार्यको शिलान्यास गरेका छन् । 

    संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको एक करोड ४० लाख रुपैयाँ गरी ३ करोडको लागतमा फतेपुरमा आधुनिक बजारका संरचना निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । 

    बीरगञ्ज महानगरपालिका १३ को सुमितकालिका कन्ट्रक्सनले २ करोड ५२ लाख २७ हजार रुपैयाँमा उक्त निर्माण कार्यको ठेक्का सकार गरेको उपमहानगरपालिकाले जनाएको छ । २०८४ असार २० गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

    फतेपुरको इतिहासलाई जीवन्त राख्ने गरी आधुनिक संरचना निर्माण गर्ने लक्ष्य उपमहानगरपालिकाले राखेको छ । उक्त आयोजनाका प्रोजेक्ट म्यानेजर समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिकाका इन्जिनियर सञ्जिव रुपाखेतीका अनुसार बारा जिल्लामै हाटबजारका लागि प्रशिद्ध फतेपुर बजारमा साप्ताहिक हाटका लागि व्यवस्थित सेड, विगतमा त्यहाँ रहेका व्यवसायीहरुको व्यवस्थापन र उपमहानगरको आम्दानी समेत बढाउने उद्देश्यले पसल व्यवसाय सञ्चालनका लागि सटर कोठा, वातावरणमैत्री पकेट पार्क, खुल्ला व्यायामशाला, सार्वजनिक शौचालय लगायतका संरचना निर्माण गरिनेछ ।

    बुधबार विहान आयोजना परिसरमा राखिएको शिलान्यास कार्यक्रममा पुर्वमन्त्री ज्वाला साहले आफू कृषि मन्त्री हुँदा गरेको पहलमा उपमहानगरपालिका र वडा कार्यालयका तर्फबाट सकारात्मक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरीन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय सरकार र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा फतेपुरको अव्यवस्थित संरचना हटाई व्यवस्थित बजारका रुपमा विकास गर्ने कार्यमा स्थानीयबासीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए । 

    जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सदस्य बलबीर चौधरी, जीतपुरसिमरा उपमहानगरका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १७ का वडाध्यक्ष भिमबहादुर गंतान, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य प्रल्हाद साह सोनार, प्रभावतीदेवी पासवान लगायतको उपस्थिती रहेको थियो ।