सिमरा : मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय निलम्बित भएका छन् ।
सोमबार मात्रै सपथ ग्रहण गरेका उपाध्यायलाई २४ घण्टा नबित्दै निलम्बन गर्नुपर्ने अवस्था आएपछि मधेश प्रदेश सरकारका गृह कानुन तथा संचार मन्त्री राजकुमार लेखी समेत तनावमा परेका छन् । नेकपा एमालेबाट मन्त्री बनेका लेखीले उपाध्यायलाई एमालेको कोटामा परेको मधेस मिडिया काउन्सिलको अध्यक्ष नियुक्तिको सिफारिस गरेका थिए ।
आइतबार नियुक्ति भएका उपाध्यायले सोमबार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह समेतको उपस्थितिमा सपथ लिएका थिए ।
उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोले उपाध्याय स्वत: निलम्बनमा परेको मन्त्री लेखीले जानकारी दिए । 'नियुक्ति अघि बिगत थाहा भएन, अब आज यस्तो सुने, वहाँ स्वत: निलम्बन हुनुभएको छ' मन्त्री लेखीले भने ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसमेत तीनजनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र कमल कुमार उपाध्याय विरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष समेत रहेका उपाध्याय समेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्रै एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरी नगरपालिकामा पेश गर्न लगाइ सोही झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिप्रपोज प्राइभेट लिमिटेडलाई भुक्तानी दिएको पाइएको अख्तियारको ठहर छ । उपाध्याय उक्त कम्पनीका अध्यक्ष हुन् ।
उनीहरूविरुद्ध सोही रकम बराबरको विगो दावी र सजाय माग गरिएको आरोप- पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस