नारायण पौडेल
बारा : बाराको कोल्बीस्थित रोज वुड होटेलमा आज ‘साइबर सुरक्षा र एआई सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा पूर्वमन्त्री जितेन्द्र सोनलले पानसमा बत्ति बालेर गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि सोनलले मुलुक अब कहिल्यै पछाडि फर्कन नसक्ने स्पष्ट गर्दै देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रविधिको तीव्र विकाससँगै डिजिटल प्रणालीमा बढ्दो निर्भरता र त्यससँगै साइबर सुरक्षाको महत्त्व झनै बढेको बताए।
सोनलले सञ्चारमाध्यम पनि समयानुकूल अपडेट हुन आवश्यक रहेको बताउँदै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि प्रविधिमैत्री बन्नुपर्ने धारणा राखे। साथै, नेपाल पत्रकार महासंघ बाराको हालको जिर्ण भवनप्रति चिन्ता व्यक्त गर्दै त्यसको व्यवस्थापनका लागि मन्त्रालयमार्फत पहल गर्ने र व्यक्तिगत रूपमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पत्रकारितालाई देशको “तेस्रो आँखा र चौथो अङ्ग” भनी सम्बोधन गर्दै आम जनताले यसलाई कसरी हेर्छन् भन्नेबारे सबै पक्ष गम्भीर बन्नुपर्ने बताए। संघीय लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि गरिएको बलिदानी स्मरण गर्दै उनले त्यसको विरोधमा क्रियाशील असामाजिक तत्वहरूबारे सावधानी अपनाउन आह्वान गरे। लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट गर्दै उनले हालको व्यवस्थाले क्रमशः परिस्कृत रूप लिँदै जाने भएकाले जनताले नआतिनु पर्ने धारणा राखे।
कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खरगाले एआई प्रविधिले जीवनलाई सहज बनाउने भए पनि यसले नयाँ खालका साइबर खतरा निम्त्याउने भएकाले नीति, प्रविधि र जनचेतनाको त्रिसूत्रीय रणनीति आवश्यक रहेको बताए। साथै, सञ्चारकर्मीहरूको सुरक्षाका लागि सञ्चालित बिमा कार्यक्रमबाट सबै पत्रकार लाभान्वित भएको जानकारी दिए।
कार्यक्रममा साइबर सुरक्षाका वर्तमान चुनौतीहरू, संवेदनशील डेटा सुरक्षाका उपायहरू, तथा एआईले ल्याउने सम्भाव्यता र जोखिमबारे विस्तृत रूपमा छलफल गरिएको थियो।
कार्यक्रमको स्वागत आमसञ्चार प्राधिकरण मधेस प्रदेशका प्रशासकीय अधिकृत प्रशन्न राज कर्णले गरेका थिए। कार्यक्रमको प्रशिक्षण सञ्चारकर्मी सुरेश बिडारी र प्रकाश मैनालीले प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले गरेका थिए।
प्रतिक्रिया दिनुहोस