सिमरा – जीतपुरसिमरा उपमहानगरपालिका भित्रको क्रिकेट प्रतिभालाई उजागर गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सिमरा क्रिकेट क्लबले व्यापक ग्रासरुट क्रिकेट विकास अभियान सुरु गरेको छ। क्लबले पहिलो चरणमा उपमहानगरका ८ वटा विद्यालयमा खेलाडी छनौट तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। साथै प्रशिक्षक उत्पादनका लागि कोच तालिम कार्यक्रम पनि सञ्चालन गरिनेछ।
यस अभियानको औपचारिक घोषणा बुधबार जीतपुरसिमरा क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो। कार्यक्रममा क्लबका अध्यक्ष पंकज विश्वकर्माले लामो समयदेखि तयारी गर्दै आएको ‘डिम प्रोजेक्ट’ अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए।
"हामी नाफामुखी संस्था होइनौं, परिणाममुखी संस्था हौं। हाम्रो उद्देश्य स्थानीय स्तरमै खेलाडीको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान क्रिकेटर उत्पादन गर्नु हो," अध्यक्ष विश्वकर्माले भने।
सिमरा क्रिकेट क्लबले पहिलो चरणमा उपमहानगरभित्रका ८ विद्यालयमा पुगेर विद्यार्थी खेलाडी छनौट गर्नेछ। छनौटपछि उनीहरूलाई तालिम प्रदान गरिनेछ, जसमा उनीहरूको खेलकौशल, शारीरिक फिटनेस तथा क्रिकेटका आधारभूत सीपमा प्रशिक्षण दिइनेछ। प्रशिक्षक तालिम कार्यक्रम अन्तर्गत स्थानीय युवाहरूलाई कोचिङ तालिम दिइनेछ, जसले भविष्यमा विद्यालय र क्लब स्तरमा प्रशिक्षकको भूमिका निर्वाह गर्न सक्नेछन्।
खेलाडी छनौट र कोच तालिमपछि प्रशिक्षण लिएका विद्यार्थी खेलाडीबीच प्रतिस्पर्धात्मक खेल आयोजना गरिनेछ। यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै व्यवहारिक अनुभव बटुल्न मद्दत पुर्याउनेछ।
क्रिकेट विकासको यो अभियानमा जीतपुरसिमरा उपमहानगरपालिका र स्थानीय संस्थाहरूको महत्वपूर्ण भूमिका रहनेछ। उपमहानगरको वडा नं. १ र ४ ले खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसले कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
यसै क्रममा, सिमरामा रहेको व्रिज एजुकेशन फाउण्डेशनले क्लबलाई जर्सी र अन्य आवश्यक खेल सामग्री प्रदान गरेको छ। फाउण्डेशनकी सञ्चालिका सावित्री कँडेलले पत्रकार सम्मेलनमा सिमरा क्रिकेट क्लबलाई औपचारिक रूपमा जर्सी हस्तान्तरण गरेकी हुन्।
“स्थानीयस्तरको खेलकुद विकासमा योगदान दिन पाउनु गौरवको कुरा हो। हामी यस्ता सकारात्मक प्रयासमा सधैं साथ दिन तयार छौं,” कँडेलले भनिन्।
सिमरा क्रिकेट क्लबले ग्रासरुट तहबाट क्रिकेट विकास गर्दै दीर्घकालीन योजना अघि सारेको छ। क्लबले निकट भविष्यमा उपमहानगरभित्र स्थायी क्रिकेट प्रशिक्षण केन्द्र स्थापना गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने, तथा राष्ट्रियस्तरका प्रशिक्षकहरूसँग सहकार्य गरेर स्थानीय खेलाडीलाई उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
क्लबले क्रिकेटप्रेमी अभिभावक, विद्यालय, र समुदायसँग सहकार्य गर्दै जीतपुरसिमरा क्षेत्रलाई क्रिकेटको केन्द्रबिन्दु बनाउने दीर्घकालीन योजना अघि सारेको छ। यसले सिमरा मात्र होइन, समग्र मधेश प्रदेशको खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको सिमरा क्रिकेट क्लबका उपाध्यक्ष निर्जल घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस