३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री, तरकारी छोडेर धान खेती सुरु



  • नयाँ इतिहास
  • ५ घण्टा अघि
  • पाठक संख्या ८०
  • बारा : फत्तेपुरका सलिक हवारीले ३ वर्षअघि १ करोडमा किनेको जग्गा हालै ६० लाख रुपैयाँमा बिक्री गरेका छन् । तरकारी खेती गर्दा लागेको ऋण तिर्न नसकेपछि उनले ४० लाख घाटा खाएर जग्गा बिक्री गरेका हुन् ।

    १० बिघा खेतमा लगाएको गोलभेंडाले बजार मूल्य नपाएपछि ६० लाख रुपैयाँ घाटा भएको हवारी बताउँछन् । सोही घाटापछि ऋण तिर्न उनले अर्को घाटा झेल्दै जग्गा बेचेका हुन् ।

    ‘बैंक, सहकारी, गाउँघरबाट ऋण लिएर खेती गरेको थिएँ । लागत त जसरी पनि आउँछ भन्ने थियो, तर ६० लाख डुब्यो,’ भावविह्वल हुँदै उनले भने, ‘बिउ, मल, विषादी आदि ल्याएको एउटै दोकानको १३ लाख उधारो थियो । पसलेले पैसा चाहिन्छ भनेर धेरै करायो । मैले जग्गा बिक्री गरेर दिन्छुभन्दा उसले नै प्रतिकट्ठा ४ लाखको हिसाबले जग्गा खायो ।’

    kk5

    हवारीले ६ महिनादेखि धेरै जनासँग जग्गा बिक्री गरिदिन अनुरोध गरेका थिए । यसका बाबजुद जग्गा बिक्री हुन सकेन । त्यसपछि बिउ, बिजन, मलखादका व्यापारी कृष्ण लामिछानेलाई नै उनले जग्गा बिक्री गरेका हुन् ।

    विशुद्ध व्यक्तिगत लगानीमा १० बिघा जग्गामा गोलभेंडा खेती गर्ने हवारी सम्भवतः बारा जिल्लाकै एकमात्रै किसान हुन् । ८ वर्षदेखि गोलभेंडा खेती गर्दै आएका उनले यति ठुलो नोक्सान जीवनमा कहिल्यै नभएको बताए ।

    प्रतिबिघा १ लाख २० हजार रुपैयाँ जग्गा भाडा तिरेर हवारीले १० बिघामा गोेलभेंडा खेती गरेका थिए । उत्पादन राम्रो भए पनि पाक्ने बेलामा बजार मूल्य नपाएपछि प्रतिकिलो ३ देखि ५ रुपैयाँमा गोलभेंडा बिक्री गर्नुपरेको उनी बताउँछन् ।

    kk1

    तरकारी खेतीबाटै उनले २ बिघा जग्गा किनेका थिए । जसमध्ये यस वर्ष उनले १ बिघा जग्गा बेचेका हुन् ।

    ‘अब २÷३ बिघामा मात्रै तरकारी खेती गर्छु । बाँकीमा धान लगाउने विचार छ,’ हवारीले भने, ‘८ वर्षदेखि तरकारी खेती गर्दा यति ठुलो नोक्सानी त जीवनमा मलाई कहिल्यै भएको थिएन ।’

    उनले ३ पटकसम्म रोपेको बिरुवा पानीले मर्‍यो । चौथो पटक रोपेको बिरुवा राम्रो भयो, तर फल्न ढिलो हुँदा बजारसम्म गोलभेंडा आइपुग्दा मूल्य पूरै घटेको थियो ।

    ‘३ रुपैयाँ, २ रुपैयाँ प्रतिकिलोसम्ममा दाम झर्‍यो । खर्च नै डुब्यो । के गर्ने !’ हवारीले भने, ‘जग्गा त २ बिघा जोडेको थिएँ । १ बिघा गोलभेंडा खेतीमै गयो ।’

    kk2

    उनले यसअघि तरकारी खेतीबाटै प्रतिवर्ष १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । सुरुमा २ देखि ३ बिघामा गोलभेंडा खेती सुरु गरेका हवारीले यसवर्ष १६ जनाको १० बिघा जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

    ‘तरकारी खेतीमा धेरै दुःख छ । कतैबाट केही सहयोग पनि छैन,’ उनले भने, ‘स्थानीय तह, कृषि ज्ञान केन्द्रले राहत दिन्छ भन्ने सुने पनि धाउँदा÷धाउँदै अरु खेती बिग्रिन्छ ।’

    जीतपुरसिमरा उपमहानगर कृषि शाखा प्रमुख अनिस प्याकुरेलले पालिकाभित्र वार्षिक २ सय हेक्टरमा तरकारी खेती हुुने बताए । उनले अगामी दिनमा किसानहरूको उत्पादनलाई बजारीकरण र लामो समयसम्म भण्डार गर्न कोल्ड स्टोरमा सहयोग गर्ने गरी कार्यक्रम ल्याउने दाबी गरे । 

    शारदा पोखरेलले रातोपाटी डटकमका लागि बाराबाट खबर लेख्नुभएको छ ।