३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

जीतपुरसिमरा उपमहानगरपालिकाको लोगो : अँग्रेजी अक्षर भित्र समेटिएका पूर्वाधार



  • नयाँ इतिहास
  • ५ दिन अघि
  • पाठक संख्या ५१५
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो आधिकारिक प्रतिक चिन्ह सार्वजनिक गरेको छ । 

    बुधबार बसेको उपमहानगरको कार्यपालिका बैठकले उपमहानगरको आधिकारिक प्रतिक चिन्हका रुपमा यतिन्द्रकुमार लाभले बनाएको लोगो स्वीकृत गरि सार्वजनिक गरेको हो । पेशाले आर्किटेक्चर इन्जिनियर लाभ सहित ३० जनाले उपमहानगरको प्रतिक चिन्ह बनाएर प्रतिष्पर्धामा भाग लिएका थिए । 

    उपमहानगरको प्रतिक चिन्ह बनाउनेलाई ५० हजार नगद सहितको प्रतिष्पर्धाका लागि उपमहानगरले करिब एकबर्ष अघिनै आवेदन आह्वान गरेको थियो । 

    जीतपुरसिमरा उपमहानगरपालिकाले गठन गरेको लोगो सिफारिस समितिका सदस्य सचिब एवं उपमहानगरका सूचना प्रविधी अधिकृत संघर्ष विंडारीका अनुसार पहिलो चरणमा २३ र दोश्रो चरणमा ७ गरी कुल ३० जनाले आफुले बनाएको लोगो सहित उपमहानगरमा प्रतिष्पर्धाका लागि आवेदन दिएका थिए । 

    यस्तो छ लोगोको अर्थ

    अँग्रेजी अक्षर जे. र एस. ले जीतपुरसिमरालाई प्रतिविम्वित गरेको छ भने दुई अक्षर भित्र यहाँका पुर्वाधारहरुलाई समेटिएको छ । रातो र नीलो रङ्गमा रहेका दुई अक्षरले नेपालको राष्ट्रिय झण्डाको रङ्गलाई चित्रण गरेको छ । जेको माथिल्लो भागमा देव्रे तर्फ चुरे पर्वतको प्रतिविम्ब देख्न सकिन्छ । एसको खुड्कीलोले नेपालको पहिलो व्यवसायिक रेलमार्गलाई संकेत गर्दछ । नेपालको पहिलो अमलेखगञ्ज–रक्सौल ऐतिहासिक रेलमार्ग पछि सिमरा विमानस्थललाई संकेत गरिएको छ । एसको सबैभन्दा माथिल्लो भागमा दुईवटा पँखेटाले विमानलाई संकेत गरेको छ भने एसको तल्लो भागमा राजमार्गलाई संकेत गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका भित्र पथलैयामा रहेको त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थललाई संकेतमा सम्बोधन गर्न खोजिएको छ । 

    उपमहानगरपालिकाको कृषि क्षेत्रलाई धानको बालाले संकेत गरेको छ भने जेको माथिल्लो भागमा चुरे पहाडको मुनी रहेको तल्लो भागको खण्डले यहाँको औद्योगिक क्षेत्रलाई संकेत गरेको छ । लोगोको माथिल्लो भागमा रहेको हातीको चित्रले यहाँ रहेको पर्सा राष्ट्रिय निकुञ्ज र हातीसारको संकेत गरेको छ । हाती संरक्षणमा नेपालमा अग्रस्थानमा रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई समेटिएको लोगोमा जे अक्षरको मध्य भागमा ऐतिहासिक कर्मकुमारी धारा देख्न सकिन्छ । जातीय छुवाछुत विरुद्धको किंवदन्तीसंग जोडिएको राणाकालीन कर्मकुमारी धारा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा, पथलैया, आधाभार र अमलेखगञ्जमा अहिलेपनि देख्न सकिन्छ ।