नारायण पौडेल
सिमरा : समाजमा स्वास्थ्य, शिक्षा र सशक्तिकरणको सन्देश फैलाउँदै आएको एन्जल फाउण्डेसनले शनिबार जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित रोयल पार्टी प्यालेस, सिमरामा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन पानसमा बत्ति बालेर प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला कुमारी साह, उपमेयर भोला प्रसाद अधिकारी, फाउण्डेसनका प्रमुख प्रतिनिधिहरू र विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय साहले भनिन्, “आजको समयमै खानपानमा ध्यान दिनु, शरीरलाई चलायमान बनाउनु र निरोगी जीवनशैली अपनाउनु अत्यन्त जरुरी छ। एन्जल फाउण्डेसनले यिनै मूल्यमान्यतालाई जोड्दै समाज र व्यक्तिबीच सकारात्मक पुल निर्माण गरिरहेको छ। जुन रुपले संस्था अगाडि बढेको छ, त्यसै ऊर्जा र प्रतिबद्धताका साथ अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु।”
उपमेयर अधिकारीले फाउण्डेसनको सामाजिक अभियानप्रति प्रशंसा जनाउँदै स्थानीय सरकार सधैं यस्ता रचनात्मक काममा साथ दिन तयार रहेको स्पष्ट पारे।
कार्यक्रमको सभाध्यक्षता फाउण्डेसनका कार्यकारी प्रमुख जयश्री राजवंशीले गरेका थिए । स्वागत मन्तव्य सन्तोष कार्कीले राखेका थिए भने संस्थाको परिचय तथा उद्देश्यबारे बजार प्रबन्धक प्रशान्त पाठकले विस्तृत रूपमा प्रकाश पारे। कार्यक्रमको सञ्चालन अनिसा गिरीले प्रभावशाली ढंगले गरेकी थिइन्।
वक्ताका रूपमा बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, साना किसान कृषि सहकारी संघका अध्यक्ष मिश्रिलाल सहनी, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, र वडा नं. २ का सदस्य उद्धव गौतमले आ–आफ्ना धारणा राख्दै सामाजिक परिवर्तनमा यस्ता संस्थाको भूमिका उल्लेख्य रहेको बताए।
कार्यक्रममा स्थानीय समाजसेवी, युवाहरू,सञ्चारकर्मीहरु, सहकारीकर्मीहरू, महिलाहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एन्जल फाउण्डेसनले विगतदेखि नै स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, युवा प्रेरणा र समाजिक चेतना अभिवृद्धिमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै आएको छ। संस्थाले आगामी दिनमा पनि अझै व्यापक कार्यक्रममार्फत जनस्तरसम्म पुग्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस