२ जेठ २०८२ बिहिबार | 15 May 2025 Thu

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र एलएस न्युरो हस्पिटलबिच उपचार छुट सम्झौता



  • नयाँ इतिहास
  • ४ दिन अघि
  • पाठक संख्या २६२
  • सिमरा :  जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र बीरगञ्जस्थित एलएस न्युरो एण्ड जेनरल हस्पिटलका विचमा उपचारमा सहुलियत सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । 

    जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको प्रतिनिधि मण्डलले हस्पिटलसंग उपचारमा सहुलियत सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

    जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ संग शनिवार भएको सम्झौतापछि अब उक्त हस्पिटलमा ओपीडीमा ३५ प्रतिशत, एक्स–रे सेवामा ३० प्रतिशत, ल्याबमा २५ प्रतिशत, सिटि स्क्यानमा २० प्रतिशत, अल्ट्रासाउण्डमा १० प्रतिशत र हस्पिटलमा भर्ना भइ उपचार गरेका विरामीको हकमा पूर्ण उपचारमा २५ प्रतिशत सहुलियत प्रदान गर्नेछ । 

    आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष तथा स्वास्थ्य विमा कार्यक्रम लगायतका सरकारी सेवा लिएर उपचार गर्ने विरामीको हकमा भने सम्झौता लागु नहुने अस्पतालसंग भएको सम्झौतापत्रमा उल्लेख छ । 

    जीतपुरसिमरा उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी तथा नगरवासी समेतको स्वास्थ्य उपचारमा सहुलियतपुर्ण सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालसंग सम्झौता गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए । 

    संघका तर्फबाट अध्यक्ष लामिछाने सहित बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, वाणिज्य उपाध्यक्ष गजेन्द्र गुप्ता महासचिव प्रकाश गिरी, सदस्यहरु रिता कँडेल र रञ्जना तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भने अस्पतालका तर्फबाट सञ्चालक रामप्रवेश कुर्मी, अस्पताल निर्देशक अर्जुनकुमार पटेल र लेखापाल दिपु राउतले हस्ताक्षर गरेका छन् ।