७ जेठ २०८२ मंगलबार | 20 May 2025 Tue

सामुदायिक बन निर्वाचन : कस्को पल्ला भारी ?



  • नयाँ इतिहास
  • ३ हप्ता अघि
  • पाठक संख्या ६७७
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन विहिबार हुँदैछ । 

    अध्यक्ष पदमा सन्तोष दाहाल र अमिताभ चौधरी नेतृत्वको दुई प्यानल प्रतिष्पर्धामा छ । सन्तोष दाहाल नेतृत्वको प्यानललाई नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको साथ छ । रास्वपा र एकिकृत समाजवादी समर्थकले पनि सन्तोषलाईनै समर्थन गरेकाले तुलनात्मक रुपमा सन्तोष दाहाल प्यानललाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । औराहाका एक स्थानीयले सन्तोष दाहालको प्यानलनै विजयी हुने दाबी गरे । ‘सन्तोष भाई असल युवा हुन् नेतृत्वमा उनको परीक्षण भएको छैन, यसपटक औराहाबासीले उनीमाथी विश्वास गरेका छन्’ एक स्थानीयले भने । 

    बलीयो पार्टीका कमजोर उम्मेदवार

    जीतपुरसिमरा उपमहानगरपालिकाको राजनीतिमा बलियो पकड राख्ने नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका अमिताभ चौधरी सामुदायिक बनको निर्वाचनमा बलियो पार्टीको कमजोर उम्मेदवारका रुपमा देखिएका छन् । एमाले भित्रै विवादित दुई पात्र भागवत चौधरी र पुर्व प्रदेश सांसद सुन्दर विश्वकर्माले काँध हालेर सामुदायिक बनको उम्मेदवार बनाएका कारण अमिताभका पक्षमा कतिपय एमालेहरुनै खुल्न सकेका छैनन् । 

    तत्कालिन नेकपा विभाजनपछि बनेको एकिकृत समाजवादीमा लागेका अमिताभ चौधरी पछि एमालेमा फर्किएका थिए । २०७४ को निर्वाचनमा एमालेबाट जीतपुरसिमरा ४ को वडा सदस्य निर्वाचित भएका उनी एमाले छाडेर समाजवादीमा लागेका थिए । एकिकृत समाजवादीका तर्फबाट २०७९ को निर्वाचनमा वडा सदस्यमा पराजित भएपछि पुनः एमालेमा फर्किएका  हुन् । 

    २०७४ मा एमालेले टिकट नदिएपछि काँग्रेस बनेका भागवत चौधरी र एमालेबाट सांसद बनेर समाजवादी तर्फ लागेका विश्वकर्मा दुबैलाई सच्चा एमालेहरुले ‘अवसरबादी’ को संज्ञा दिने गरेका छन् । ‘भागवत दाई र सुन्दर दाइहरुका कारण यसपटक हाम्रो लज्जास्पद पराजय हुँदैछ, वहाँहरुको आफ्नै भुमिका पनि शंकास्पद छ’ नाम नलेख्ने शर्तमा एक एमाले नेताले भने ।

    २६ बर्षदेखि एमालेकै नेतृत्व

    २०५६ सालमा स्थापना भएको प्रगतिशिलि सामुदायिक बनको नेतृत्व २६ बर्षदेखि एमालेलेनै गर्दै आएको छ । संस्थापक अध्यक्षका रुपमा दुर्गाप्रसाद भट्टदेखि निवर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठीसम्म सबै एमाले निकट ब्यक्ति हुन् । बन समुहको नेतृत्व हालसम्म ६ जनाले गरिसकेका छन् । जसमा भट्ट र त्रिपाठी सहित भागवत चौधरी, हरिप्रसाद सोंडारी, हरि अधिकारी र रमेश प्रसाद खरेल छन् । उनीहरु सबै एमालेकै स्थानीय नेता हुन् । बन समुहको आसन्न निर्वाचन समितिका संयोजक समेत रहेका पुर्व अध्यक्ष रमेश खरेलले नेतृत्व एमालेले गरेपनि कार्यसमितिमा सबैको प्रतिनिधित्व रहेको बताए । ‘२६ बर्षदेखि नेतृत्वमा त एमाले रह्यो तर कार्यसमितिमा अन्य दलका साथीहरु पनि थिए’ खरेलले नयाँ इतिहाससंग भने । 

    प्रगतिशिल परिवर्तन चाहन्छन् औराहाबासी

    जीतपुरसिमरा उपमहानगरपालिका ४ का जनताले बर्षौंदेखि सामुदायिक बनको माध्यमबाट आफ्नो वनस्रोतलाई संरक्षण र उपयोग गर्दै आएका छन् । तर विगत २६ वर्षदेखि नेकपा एमाले निकट समूहले सामुदायिक बनको नेतृत्व कब्जा गर्दै आएको जनगुनासो स्थानीयमा ब्यापक छ । एक स्थानीयले औराहाका जनताले नेतृत्वमा प्रगतिशिल परिवर्तन चाहेको प्रतिक्रिया दिए । ‘हामी २६ बर्षदेखि जरा गाडेको नेतृत्वमा परिवर्तन चाहन्छौं, त्यसकारण सन्तोष दाहाललाई मतदान गर्न आह्वान गर्दछौं’ ती स्थानीयले भने । 

    स्थानीयबासीहरुका अनुसार सन्तोष दाहाल, औराहाका एक गतिशील र समर्पित युवा हुन् जसले समाजसेवा र व्यवसायका माध्यमबाट समाजमा स्वच्छ छवी निर्माण गरेका छन् र समुदायमा गहिरो विश्वास कमाएका छन् । युवामाझ लोकप्रिय र समाजका गतिविधिमा अग्रसर भूमिका खेलेका सन्तोषले सामाजिक न्याय, पारदर्शिता, र समावेशितामा आधारित नेतृत्व दिनसक्ने क्षमता बोकेका छन् । 

    उनी नेतृत्वमा आउन लागेको प्रगतिशील सामुदायिक बन उपभोक्ता समूह अब केवल बन संरक्षणको संस्था मात्र होइन, समुदायको समग्र समृद्धिको आधार बन्ने दिशामा अग्रसर हुने अपेक्षा गरिएको स्थानीय बताउँछन् । सन्तोष दाहालको नेतृत्वमा प्रगतिशिल सामुदायिक बन समूहले वन संरक्षणसँगै युवाहरूको रोजगार, महिलाको सशक्तिकरण, र स्थानीय स्रोतहरूको पारदर्शी व्यवस्थापन र आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने लक्ष्य लिएको छ ।

    स्थानीय बासिन्दाहरूका अनुसार यो पटक सामुदायिक बन साँचो अर्थमा समुदायको हुनेछ, कुनै दल विशेषको कब्जा रहनेछैन । दाहालको अभियानमा सबै उमेर समूह, जात–समुदाय, र वर्गका मानिसहरू एकजुट हुँदै गएका छन् । ‘हामी विकास चाहन्छौं, दलको नियन्त्रण होइन सन्तोषजीजस्ता स्वच्छ व्यक्तित्वले अब नेतृत्व गर्नुपर्छ’ स्थानीय एक अग्रजले भने । ‘यो परिवर्तन केवल नेतृत्वको होइन, सोचको पनि हो—जहाँ वन र विकास दुबैलाई सँगसँगै लैजाने प्रयास भइरहेको छ । यस पटकको सामुदायिक बनको नेतृत्व चयन केवल एउटा पदको प्रतिस्पर्धा होइन—यो समुदायले आफनो अधिकार, स्वाभिमान र समृद्धिको लडाइँ जित्ने अवसर हो’ अर्का स्थानीय एक अग्रजले भने । 

    अन्तिम संस्कारमा दाउरा समेत पाउँदैनन् औराहाबासी

    प्रगतिशिल सामुदायिक बन समुह धारासायी अवस्थामा रहेकाले नेतृत्व परिवर्तनलाई बन समुहको प्रगतिशिल परिवर्तनसंग जोडेर हेरिएको छ । जीतपुरसिमरा ४ का वडाध्यक्ष इश्वर केसीले सामुदायिक बनले गाउँबासीको मरणमा दाउरा समेत दिन नसकेको बताए । ‘अहिले औराहाबासीको मरण हुँदा दाहसंस्कारका लागि दाउरा समेत सामुदायिक बनले दिन सक्तैन, विगतका समितिलाई तपाँइहरुले सोधीदिनुस्’ वडाध्यक्ष केसीले भने । 

    स्थानीयबासीहरुका अनुसार सामुदायिक बनले दाउरा दिन नसकेपछि गाउँ–गाउँमा ट्रयाक्टर घुमाएर दाहसंस्कारका लागि दाउरा जुटाउनुपर्ने बाध्यता छ । जुनकुरा प्रगतिशिल सामुदायिक बन समुहका निवर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठीले पनि स्वीकार गरेका छन् । नयाँ इतिहासंग कुराकानी गर्दै निवर्तमान अध्यक्ष त्रिपाठीले गत पौष २० गतेको साधारण सभापछि आफ्नो समिति विघटन भएको र नयाँ काम गर्न नसक्ने अवस्था आएकाले गाउँबासीलाई दाउरा समेत दिन नसक्ने अवस्था आएको स्वीकार गरे । ‘पौषदेखि रुख कटान गर्न पाईएको छैन, पहिले भएको दाउरा सकिएकोले दाहसंस्कारका लागि समेत दाउरा दिन नसकेको सत्य हो’ अध्यक्ष त्रिपाठीले नयाँ इतिहाससंग भने ।