सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहास्थित प्रगतिशिल सामुदायिक बन समुह औराहाका नव–निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार विहान औराहा स्थित सामुदायिक बन परिसरमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेशप्रसाद खरेलले नव–निर्वाचित अध्यक्ष सन्तोष दाहाल सहितका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण लगतै नव–निर्वाचित अध्यक्ष दाहाललाई निवर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठीले संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । पदभारपछि शनिवारनै बसेको कार्यसमितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबै पक्षलाई धन्यबाद ज्ञापन गरेको अध्यक्ष दाहालले जानकारी दिए । ‘सम्पुर्ण औराहाबासी मतदाता उपभोक्तालाई धन्यबाद ज्ञापन लगायतका केही निर्णय गरेर पहिलो बैठक सम्पन्न गरिएको छ’ दाहालले भने ।
औराहाबासीले दाउराको अभाव झेलिरहेको र अहिले नयाँ रुख कटानको समय समेत गुज्रिसकेकाले तत्कालको दाउरा अभाव हटाउन डिभिजन बन कार्यालय बारासंग समन्वय गरेर जाने निर्णय समेत बैठकले गरेको अध्यक्ष दाहालले बताए । ‘फागुन महिनामा कटान अनुमती लिइसक्नुपथ्र्यो तर पुरानो समितिबाट लिईएन, अहिले तत्काल दाउराको समस्या समाधान गर्छौ, अन्य थुप्रै समस्याका विषयहरु छन् क्रमैसंग प्राथमिकता निर्धारण गरेर समाधान गर्दै जाने सोंच बनाएका छौं’ अध्यक्ष दाहालले भने ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा कमिटी अध्यक्ष कृष्ण धमला, नेकपा माओबादी केन्द्रका वडा कमिटी अध्यक्ष दिपक सिंखडा, नेकपा एमाले वडा कमिटी अध्यक्ष भागवत चौधरी, नेपाली काँग्रेसका वडा सभापति रमेश पण्डित, प्रगतिशिल सामुदायिक बनका निवर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठी, अध्यक्ष पदका उम्मेदवार अमिताभ चौधरी, पुर्व प्रदेश सांसद सुन्दर विश्वकर्मा, जीतपुरसिमरा ४ का वडाध्यक्ष इश्वर खत्री, निर्वाचन समितिका संयोजक रमेश खरेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
निर्वाचन कमिटी सदस्य मुना खरेलको स्वागत तथा शंकर ढकालको सहजीकरणमा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य अर्जुन रसाईली, सामुदायिक बन समुहका पुर्व पदाधिकारीहरु लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस