२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि व्यवसायी समस्यामा



  • नयाँ इतिहास
  • ४ महिना अघि
  • पाठक संख्या १०६
  • नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् ।

    प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा कटौती गर्न थालेको हो । प्राधिकरणले अहिले बेलुकी ५ बजदेखि ९ बजेसम्मको ‘पिकआवर’मा औद्योगिक कोरिडोर क्षेत्रमा विद्युत् कटौती गर्दै आइरहेको छ ।

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो ।

    सङ्घले विज्ञप्ति निकालेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ ।

    विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका र कतिपय उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

    सङ्घका अध्यक्ष अग्रवालले विद्युतको समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गर्नुभयो ।

    नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिनुभयो । सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।