७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

एमाले बारा अधिवेशन :पूर्व मेयरदेखि सांसद पत्नीसम्म अध्यक्षका आकाँक्षी



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या १६४७
  • सिमरा : नेकपा एमालेकोको ११ औं जिल्ला अधिवेशनको तयारीका लागि यतिबेला बारा जिल्लाको पार्टी नेतृत्व तिव्रताका साथ लागि परेको छ । 
    आगामी १९–२१ चैत्रका लागि निर्धारित बारा जिल्ला अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । पार्टीको मधेश प्रदेश सचिब एवं बाराका प्रभावशाली युवा नेता मनोज पौडेलका अनुसार पार्टीको जिल्ला नेतृत्वले अबिधेशनको आयोजनाका लागि आवश्यक तयारी तिव्रताका साथ गरिरहेको छ ।
    अधिवेशनको तयारी चलिरहँदा पार्टीको अध्यक्ष पदमा पाँचजना आकाँक्षी देखिएका छन् । जसमा कोल्हवी नगरपालिकाका पूर्व नगर प्रमुख भरतबहादुर भण्डारी, एमाले नेता एवं बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीकी श्रीमती टिना सुवेदी, अध्यानन्द पाण्डे, महम्मद समिउल्लाह र पूर्व जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा रहेका छन् ।
    जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमालेका नेताहरु आफु निकटका उम्मेदवारलाई सर्वसम्मत बनाउने दौडधुपमा लागेका छन् ।  तर एमाले निकट स्रोतका अनुसार यसपटक चुनाबी प्रकृयाबाटै नेतृत्व चयन हुनेछ । ‘यसपटक शिर्ष नेताहरुले जिल्ला अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएका छन्, सहमतीको सम्भावना न्युन छ’ एमाले बाराका एक नेताले नयाँ इतिहाससंग भने ।
    प्रतिनिधीनै नरहेका सुन्दर विश्वकर्माको पक्षमा युवा नेताहरु
    एमालेको यूवा संगठनमा रहेर राजनीति गरिरहेकाहरु नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गराउनुपर्ने माग सहित शिर्ष नेताहरुसंगको लविङमा लागिरहेका छन् । तर वडा र पालिकास्तरको प्रतिनिधि चयन प्रकृयामा बाइपास गरेर विश्कर्मालाई अध्यक्षको उम्मेदवार समेत बन्न नदिन एमालेको एउटा पंक्ती लागि परेको छ । एमाले बाराको अधिवेशन प्रकृयामा १६७ वडाबाटै प्रतिनिधि चयन भइसकेका छन् । मधेश प्रदेशका पुर्व सांसद समेत रहेका विश्वकर्माको नाम शनिवार दिउसोसम्म जिल्ला प्रतिनिधिको सुचीमा छैनन् तर नयाँ इतिहासलाई प्राप्त विश्वस्त सूचनाका आधारमा शनिवार साँझ वा आइतबार विहानसम्म विश्वकर्मा जिल्ला प्रतिनिधिका रुपमा चयन हुनेछन् । एमालेको दलित संगठन मुक्ती समाज बाराको प्रतिनिधित्व गर्दै विश्वकर्मा जिल्ला प्रतिनिधि चयन हुनेछन् । विश्वकर्माको पक्षमा खुलेका एमाले निकट यूवा संघका एक नेता भन्छन्‘केही व्यक्तिले षडयन्त्र गर्दैमा सुन्दर दाईको यात्रा रोकिनेवाला छैन, हामी अध्यक्ष निर्वाचित गराउँछौं’ ।
    एमाले मधेश प्रदेशका सचीव मनोज पौडेलले भने विश्वकर्मा अध्यक्षको उम्मेदवार बन्ने कुरालाई स्विकारेनन् ।‘वहाँ यतिबेला सम्म जिल्ला प्रतिनिधि होइन, उम्मेदवारी पछिको कु्रा हो’ पौडेलले नयाँ इतिहाससंग भने । तर मुक्ति समाज बाराले भने विश्वकर्मालाई प्रतिनिधि पठाउने विषयमा आजै साँझ सम्म निर्णय गर्ने तयारी गरेको छ । मुक्ति समाज बाराका अध्यक्ष शर्मा बैठाले आफ्नो संस्थाको प्रतिनिधिका रुपमा विश्वकर्मा जाने नयाँ इतिहासलाई बताए ।
    अध्यक्ष ओली बारा आउँदै
    एमाले बाराको जिल्ला अधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओली स्वयं बारा आउन लागेकाले केन्द्रीय हस्तक्षेपको सम्भावना पनि बढेको छ । यसो हुँदा अध्यक्ष ओलीको विश्वास पात्रका रुपमा रहेकी ज्वालाकुमारी साह निकट उम्मेदवारलाई फाइदा पुग्ने देखिन्छ । एमाले पोलिट ब्युरो सदस्य एवं बारा १ का सांसद अच्युत मैनालीकी श्रीमती टिना सुवेदी वा कोल्हवी नगरपालिकाका पूर्व मेयर भरतबहादुर भण्डारी मध्य ज्वाला साहको समर्थन कता रहने सुनिश्चित भइसकेको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्री समेत रहेकी ज्वालाकुमारी साहको समर्थनमा उम्मेदवार बनेको खण्डमा सुवेदी वा भण्डारी विरुद्ध अर्का पोलीटब्युरो सदस्य पुरुषोतम पौडेल र कलैया उपमहानगरपालिकाका मेयर विनोद साह निकटका मानिने अध्यानन्द पाण्डे वा महम्मद समिउल्लाह मध्य एकजना उम्मेदवार बन्नेछन् । टिना सुवेदी वा भरतबहादुर भण्डारी एउटा खेमाको उम्मेदवार बन्ने सम्भावना बढि छ भने अर्को गुटबाट महम्मद समिउल्लाह वा अध्यानन्द पाण्डे उम्मेदवार बन्ने देखिन्छ । 
    विश्वकर्मा कता ?
    अध्यक्षको आकाँक्षी देखिएका चार जना शिर्ष नेताको पक्षमा खुलेपनि पूर्व जिल्ला अध्यक्ष विश्वकर्मा कुन खेमाबाट उम्मेदवार बन्लान् भन्ने निश्चित भइसकेको छैन । विश्वकर्माले गुटको भन्दा समग्र जिल्लाका कार्यकर्ताको साझा उम्मेदवार बनेर जित निकाल्ने दाउँ हेरेर बसेका छन् । भण्डारी वा सुवेदी मध्य एक उम्मेदवार बन्दा ज्वाला साह समुहमा आउने तिक्तताको फाइदा विश्वकर्मालाई हुनेछ । यता अध्यानन्द पाण्डे वा महम्मद समिउल्लाह मध्य एक उम्मेदवार बन्दा विनोद÷पुरुषोतम खेमामा आउने फाटोको फाइदा विश्वर्माले लिनेछन् ।