३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमा



  • नयाँ इतिहास
  • १ हप्ता अघि
  • पाठक संख्या ३२७
  • सिमरा : मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो । 

    गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक पुगेको छ । मच्छिन्द्रको जीतमा सब्स्टीच्युट खेलाडी अनिल रानामगरले निर्णायक गोल गरे । प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटसम्म बेञ्चमा राखेका अनिल सविन गुरुङको ठाउँमा मैदान प्रवेश गरेका थिए । 

    भरतपुर विरुद्धको महत्वपुर्ण खेलमा मैदान प्रवेश गरेको तेश्रो मिनटमै गोलको खडेरी तोड्दै अनिलले मच्छिन्दलाई रोमाञ्चक जित दिलाए । खेलको ६८ औं मिनटमा अनिलले गरेको गोलनै निर्णायक बन्यो । 

    मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको  पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए । 

    पहिलो र दोश्रो हाफमा भरतपुरले निकै आकर्षक अवसरहरु बनाएको थियो । अधिकाँश समय खेल आफ्नो नियन्त्रणमा राखेपनि फिनिसिङ लाईन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरीयो । 

    खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार नगद र ट्रफि प्रदान गरे । 

    बुधबार दोश्रो सेमीफाइनलमा आयोजक नवजनजागृति युवा क्लब सिमराले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।