सिमरा : नेपाली काँग्रेसको बारा ३ नम्बर क्षेत्रको क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको छ ।
बारा ३ नम्बर क्षेत्रीय कमिटीको आयोजनामा हुन लागेको प्रथम क्षेत्रीय सम्मेलनलाई पार्टीका महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा ६ सय जना क्षेत्रीय प्रतिनिधीलाई अनिवार्य सहभागिताका लागि पत्राचार गरिएको र पार्टीका शुभेच्छुक तथा अन्य क्षेत्रका नेता कार्यकर्ता सहित करिब तीनहजार नेता कार्यकर्ताको उपस्थिती रहने अनुमान आयोजकले गरेको क्षेत्रीय कमिटी सचिब राजेश भण्डारीले जानकारी दिए ।
सम्मेलनमा महामन्त्री थापा सहित केन्द्रिय सहमहामन्त्री फरमुल्लाह मंसुर, उमाकान्त चौधरी र केन्द्रिय सदस्य प्रकाश रसाईलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । क्षेत्रीय कमिटी सचिब भण्डारीका अनुसार क्षेत्रीय सभापति प्रभातकुमार चौरसीयाको संयोजकत्वमा बनेको सम्मेलन आयोजक कमिटीले आवश्यक सबै तयारी पुरा गरेको छ ।
जीतपुरसिमरा १८ स्थित वडहर्वा खेल मैदानमा आयोजना हुने सम्मेलनका लागि महामन्त्री थापा बुधबार विहान सिमरा विमानस्थलबाट कार्यक्रमस्थल जानेछन् । महामन्त्री थापाको स्वागतमा पार्टीका वडा कमिटीहरुले ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस