सिमरा : नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर अधिवेशनमा सहमतीको प्रयास विफल भएपछि मङ्गलबार विहानबाट मतदान हुँदैछ ।
जीतपुरसिमरा उपमहानगरको एमाले अधिवेशन पार्टीका पोलीटब्युरो सदस्यद्वय ज्वालाकुमारी साह र पुरुषोतम पौडेलको प्रतिष्ठाको लडाँइ बनेको छ । सर्बसहमतीको प्रयास विफल भएपछि साह र पौडेल पक्षधर स्थानीय नेता खुलेरै विभाजित भएका छन् ।
आफु पक्षधर उम्मेदवार जिताउन दुबै पक्षका नेताहरु मतदाताका घरदैलोमा ब्यस्त छन् ।
उपमहानगरको ८५ सदस्यिय कार्यसमिति चयनका लागि जारी निर्वाचन प्रकृयामा सदस्यहरु सर्वसम्मत भइसकेका छन् भने पाँच पदाधिकारीका लागि दुई प्यानल प्रतिष्पर्धामा देखिएका छन् ।
अध्यक्ष पदमा त्रिलोक विक्रम शाह र ताराबहादुर बस्नेत ‘हिरा’ को प्यानल चुनावी मैदानमा देखिएका छन् । शाह पुरुषोतम पौडेल र बस्नेत ज्वाला साह निकट उम्मेदवार हुन् ।
उपाध्यक्ष पदमा जीतपुरसिमरा उपमहानगरपालिका दुई वडाध्यक्षहरु प्रतिष्पर्धामा छन् । शाह प्यानलबाट वडा नम्बर ६ का वडाध्यक्ष कैमुद्दिन अंसारी उपाध्यक्ष पदमा उम्मेदवार छन् भने बस्नेत प्यानलमा वडा नम्बर ७ का वडाध्यक्ष सुनीलकुमार गुप्ता चुनावी मैदानमा छन् ।
सचीव पदमा रविन्द्रराज भण्डारी र रमेशकुमार पौडेल उम्मेदवार छन् । जीतपुरसिमरा १६ महेन्द्रनगरका भण्डारी शाह प्यानलमा छन् भने जीतपुरसिमरा १ रेल्वेरोडका पौडेल बस्नेत प्यानलका उम्मेदवार हुन् ।
उपसचिव (खुल्ला) पदमा जीतपुरसिमरा २ का मजदुर नेता विष्णु सापकोटा र वडा नम्बर २३ का युवा नेता इम्तियाज अंसारी चुनावी मैदानमा छन् । शाह प्यानलका सापकोटा हुलास स्टिलमा कार्यरत मजदुर नेता हुन् भने बस्नेत प्यानलका अंसारी जीतपुरसिमरा २३ का वडाध्यक्ष मुस्तकिम अंसारीका छोरा हुन् ।
उपसचिव (महिला) पदमा जीतपुरसिमरा १४ की समिता शर्मा र अलौपीया चौधरी चनावी मैदानमा छन् । बस्नेत प्यानलबाट उम्मेदवार रहेकी शर्मा केही अघिसम्म जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ निकट थिइन् । पोलीटब्युरो सदस्य ज्वालाकुमारी साह र वडाध्यक्ष गुरुङविच बोलचाल बन्द रहेको अवस्थामा शर्मा साह समर्थित बस्नेत प्यानलबाट उपसचिव पदमा उम्मेदवार बनेपछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । त्रिलोक विक्रम शाहको प्यानलमा जीतपुरसिमरा १९ कि अलौपीया चौधरी उपसचिव उम्मेदवार छन् ।
एमालेको नगर अधिवेशनमा देखिएको दुइ धारसम्बन्धमा पोलीटब्युरो सदस्य पुरुषोतम पौडेलले भने आफु सहमतीको पक्षधर रहेको र आफ्नो कुनै प्यानल नरहेको बताए । ‘म सर्वपक्षीय मान्छे हुँ, सहमतीको पक्षधर हुँ, ज्वालाजीहरुका कारण चुनाव हुँदैछ’ पौडेलले भने ।
पोलीटब्युरो सदस्य एवं बारा जिल्ला इन्चार्ज ज्वाला साहले अझैपनि आफु सहमतीकै पक्षमा रहेको बताईन् । ‘लोकतान्त्रिक प्रकृयाबाट नेता चयन गर्ने हाम्रो अन्तिम विकल्प त छँदैछ, त्यसअघिसम्म हामी सहमतीकै पक्षमा छौं’ साहले नयाँ इतिहाससंग भनिन् । आफुले कुनै प्यानलको नेतृत्व नगरेको दावी उनको छ ।
प्रतिक्रिया दिनुहोस