३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed

आर्थिक राजधानी बीरगञ्जका उद्योगी असुरक्षित



  • नयाँ इतिहास
  • १७ घण्टा अघि
  • पाठक संख्या १११
  • प्रकाश लम्साल

    बारा :  मुलुकको प्रमुख व्यापारिक केन्द्र तथा आर्थिक राजधानी वीरगन्जमा राजनीतिक, सामाजिक तथा धार्मिक गतिविधिसँगै बढेको असुरक्षाले उद्यमी व्यवसायी त्रसित बन्न थालेका छन् । आर्थिक गतिविधि हुने सहरमा सुरक्षा संयन्त्रको सहज पहुँच भए पनि गत शनिबार शोभा यात्राको विवादपछि लगाइएको कफ्र्यु, सयौँ अश्रुग्याँस प्रहार, हवाई फायर र कोलाहलमय अवस्थाले वीरगन्जको व्यावसायिक सुरक्षालाई लिएर उद्यमी व्यवसायी त्रसित हुन थालेका हुन् ।

    कफ्र्यु आदेश हटाइए पनि वीरगन्जको परिस्थिति पूर्ण रूपमा सामान्य नभएको भन्दै जिल्ला प्रशासन पर्साले वैशाख १ गतेदेखि अर्को सूचना जारी नभउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । खुला सिमानाका कारण हुने अपराधसँगै, बढ्दो तस्करी, अवैध ओसारपसारले थिचिएको आर्थिक सहर वीरगन्जमा मधेश आन्दोलनपछि यहाँ राजनीतिक, सामाजिक तथा धार्मिक संस्थाले गतिविधि बढाउँदै जाँदा आर्थिक क्रियाकलाप साघुरिदै गएकोमा उद्यमीहरूले चिन्ता व्यक्त गरेका छन् ।

    ‘व्यावसायिक वातावरण नभएको स्थान भन्दै वीरगन्जलाई बदनाम गरिँदै आए पनि पछिल्लो समय व्यावसायिक लयमा फर्कँदै गर्दा पछिल्लो घटनाले फेरि उद्यम क्षेत्रमा वीरगन्जलाई नराम्रो चर्चामा ल्याएको छ’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले २०४६ पछि हरेक आन्दोलन राजनीतिक हुने गरे पनि आर्थिक आन्दोलन नहुने यो देशमा एक मात्र आर्थिक राजधानी वीरगन्ज सहरमा सुरक्षा संयन्त्रको सहज पहुँच हुँदासमेत सूक्ष्म रूपमा परिचालन नहुँदा विभिन्न घटना र कोलाहलमय वातावरणले व्यावसायिक वातावरण बिथोलिएको बताए ।

    आन्दोलन, कफ्र्युले वीरगन्ज भन्सार प्रभावित भएको, आयात निर्यात ठप्प जस्तै बनेको, व्यावसायिक मुख्य बजार बन्द हुँदा मुलुकले करिब तीनदेखि ५ अर्बको राजस्व तथा व्यापार घाटाको क्षति व्यहोर्नु परेको वीरगन्ज उद्योग वाणिज्य संघको अनुमान छ । घटना घटेकै दिन शनिबार सिमराको तराई यातायात व्यवसायी संघको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उद्योगी व्यवसायीको सुरक्षा र व्यावसायिक वातावरणको लागी सरकार प्रतिबद्ध छ भन्दै कार्यक्रममा उद्घोष गरेर दिउँसो राजधानी फर्केका थिए ।

    आर्थिक सहरमा राजनीतिक आवरणमा अराजकले स्थान पाउँदा व्यावसायिक वातावरण बिथोलिँदै गएकोले वीरगन्जलाई सुरक्षित आर्थिक व्यापारिक केन्द्र बनाउन बेग्लै सुरक्षा नीति नथाल्ने हो भने अर्थतन्त्रमा ठुलो क्षति पुग्ने उद्योग वाणिज्य संघ वीरगन्जले जनाएको छ । मधेश आन्दोलनपछि उदीयमान बनेको सिमरा सहरमा व्यावसायिक वातावरण फराकिलो बनेकै कारण निजी क्षेत्रले सेवामूलक पाँच तारे एक होटल सञ्चालनमा ल्याएको र दुई वटा पाँच तारे होटल निर्माणको प्रक्रियामा रहेको छ ।

    सिमरा सेजमा उद्योग बन्ने र उत्पादन बजार पठाउने क्रम बढ्दो रहेको छ । तर, सम्पन्न सहर मानिने वीरगन्जमा सुरक्षाकै कारण आर्थिक गतिविधि गिजोलिएको उद्यमीहरू बताउँछन् । सुरक्षा संयन्त्रले वीरगन्जको व्यावसायिक वातावरण सहज नबनाउँदा ग्रामीण क्षेत्रका सामान्य असहमति पोख्नेदेखि राजनीतिक दलहरूले गर्ने गतिविधिको समेत मुख्य केन्द्र वीरगन्जलाई बनाउन थालेकाले वीरगन्जबाट हुने व्यापार जोखिममा पर्न थालेको छ । वैशाख १ देखि अर्को सूचना जारी नभउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यलाले सहर बजार सामान्य अवस्थामा फर्कँदै गएको बताए ।