३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed

सिमरामा चौथो पटक फाइनल खेल्दै हिमालयन शेर्पा, आयोजक स्तब्ध



  • नयाँ इतिहास
  • ६ दिन अघि
  • पाठक संख्या ३५६
  • सिमरा : घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

    बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट पक्का गर्‍यो । 

    सिमरा रङ्गशालामा शुक्रबार साँझ हिमालयन शेर्पाले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्नेछ । प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौथो र तेह्रौं संस्करणको फाइनलमा पराजय भोगेको थियो । 

    हिमालयन शेर्पाको जितमा भाारतीय खेलाडी रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । आयोजक सिमराका लागि युवराज खड्काले गोल गरेका थिए । 

    पहिलो हाफ गोल रहित बराबरी खेलेको आयोजकविरुद्ध दोश्रो हाफको शुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भयो । खेलको ४७ औं मिनटमा शिबम् खड्काको क्रसबल नियन्त्रणमा लिंदै आयोजकको डिबक्स भित्रबाटै रोबर्टले आकर्षक गोल गरेका थिए । 

    खेलको ५८ औं मिनटमा हिमालयन शेर्पाकमा लागि समिरराज थोकरले अग्रता दोब्बर पारे । सेण्टरलाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षापंक्ती तोड्न सफल थोकरको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाएका थिए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिंदै किपर विट भएको अवस्थामा समीरले गोल गरेका थिए । 
    खेलको ७३ औं मिनटमा युवराज खड्काले गोल गर्दै आयोजक सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका लागि पर्याप्त भएन । मोहित गुरुङको क्रसपासमा युवराजले गोल गरेका थिए । 

    खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनलाई भिएक्सएल एजुकेशनका सञ्चालक उत्सव नराल र ग्रीन इनर्जीका सञ्चालक शैलेश शाहले १० हजार नगद र ट्रफि प्रदान गरे । 

    प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुनेछ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमूख आतिथ्यतामा समापन समारोह आयोजना तय भएको आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।