२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

नेपालमा मंकीपक्स समुदायमा फैलिने जोखिम कति ?



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ९७
  • काठमाण्डौं : नेपालमा मंकीपक्स अर्थात् एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ ।

    हुन त एमपक्स भाइरस नेपालमा भित्रिने जोखिम सन् २०२२ मा अफ्रिकी महादेशबाट युरोप लगायत विश्वभरि फैलिंदा नै थियो । तर एमपक्स फैलिने क्रममा कमी देखिंदै जाँदा नेपालमा पनि यसको जोखिममा कमी महसुस भएको देखिन्छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क निष्क्रिय प्राय देखिएकोबाट पनि देखिन्छ ।

    केही समयअघि (सन् २०२४ मै) एमपक्सको लहर देखिएसँगै विश्व स्वस्थ संगठनले दोस्रो पटक जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो दोस्रो आपतकालको अन्त अधिकारिक रुपमा हालसम्म घोषणा पनि गरेको छैन । एमपक्स भाइरसलाई क्लाड १ र २ गरी दुई भागमा वर्गीकरण गरिएको छ । क्लाड १ तुलनात्मक रुपमा क्लाड २ भन्दा बढी घातक मानिन्छ । सन् २०२२ मा क्लाड २ फैलिएको देखिए पनि पछिल्लो समय क्लाड २ फैलिएको देखिन्छ । नेपालमा हाल साउदी अरबबाट कुन क्लाड भित्रिएको हो भन्ने सार्वजनिक भइसकेको छैन ।

    नेपालीका लागि मध्यपूर्वका देशहरु रोजगारीको प्रमुख गन्तव्य हुन् । दैनिक सयौं व्यक्ति साउदी अरब, यूएई, कतार जस्ता देशमा गइरहेका छन् । ती देशबाट फर्किने पनि उत्तिकै देखिन्छन् । मानिसको ठूलो आवत जावतबाट एक देशमा देखिएको/फैलिएको  संक्रमण अर्को देशमा पुग्न सक्ने सम्भावना उत्तिकै प्रबल रहने गर्छ । साउदी अरब, यूएई, कतारमा एमपक्स संक्रमण पुष्टि भइसकेको छ ।

    त्यहाँ रोजगारीको सिलसिलामा पुगेकाहरुको भेटघाट पनि बाक्लो हुने वा एकै कोठामा धेरै जना रहने हुँदा एमपक्स संक्रमण एकअर्कामा सर्न सक्ने जोखिम उच्च हुन्छ । विशेषगरी एमपक्स संक्रमण पहिचान हुन ढिलो भएमा धेरै मानिस एकै ठाउँमा काम गर्दा वा सँगै बस्दा सर्ने सम्भावना बढी हुन्छ । दोस्रो एमपक्स पुष्टि बिरामीमा पनि संक्रमण धेरै जनासँग एकैठाउँ बस्दा सरेको उनको भनाइबाट बुझ्न सकिन्छ । उनीसँगै एकै भवनमा अरु थप ४० भन्दा बढी बस्ने गरेको उनले सुनाएका थिए ।

    झण्डै १७ वर्षदेखि एकै कम्पनी काम गर्दै आएका सो संक्रमित व्यक्ति यो भन्दा अगाडि कहिल्यै बिरामी नभएको बताएका थिए । ती बिरामीमा संक्रमण सरेको अवस्थालाई आधार मान्ने हो भने नेपालमा भित्रिरहेको अवस्था छ भने समुदायमा पनि सहजै फैलिन सक्ने देखिन्छ ।

    माथि उल्लेख गरे झैं मध्यपूर्वका देशमा वार्षिक लाखौं मानिसको आवतजावत हुने र संक्रमित सबै स्वास्थकर्मीको सम्पर्कमा नआउने सम्भावनाले समुदायमा एमपक्स संक्रमण फैलिन सक्ने जोखिमलाई नजरअन्दाज गर्न सकिंदैन । यदि संक्रमित व्यक्तिमा संक्रमण भएको तर लक्षण देखिन बाँकी (इन्कुभेसन अवधिमा) भएको अवस्थामा नेपाल भित्रिने अनि समुदायमा फैलन सक्ने सम्भावना प्रबल देखिन्छ ।

    अझ धेरै जना एमपक्ससँग ठेउला हो कि भनी झुक्किने हुँदा अरुलाई सार्न सक्ने सम्भावना थप बढेर जाने देखिन्छ । दोस्रो एमपक्स पुष्टि बिरामीले पनि पहिले आफूमा देखिएको पानीफोकालाई ठेउला भनी शंका गरेर बसेका थिए । त्यसैले विदेश खासगरी एमपक्स देखिएको देश वा ठाउँबाट आएका र आएको २१ दिनभित्र शरीरमा पानीफोका देखिए नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा सम्पर्क गर्ने वा गर्न प्रेरित गर्नुपर्छ ।

    पहिलो लहर (सन् २०२२) मा एमपक्स देखिएका अधिकांश यौन क्रियाकलापमा सक्रिय भएकामा देखिएका थिए । यसर्थ पनि एमपक्स पुष्टि भए समाजमा आफूलाई हेर्ने नजर नकारात्मक होला भनेर परीक्षणको लागि आउने सम्भावना पनि न्यून देखिन्छ । एमपक्स खाली यौन क्रियाकलापमा संग्लग्न हुनेलाई मात्र हुन्छ भन्ने भ्रमलाई पनि चिर्नुपर्ने देखिन्छ । पछिल्लो पटक देखिएको एमपक्सको लहरले विशेषगरी १५ वर्षमुनिका बालबालिका बढी प्रभावित पारेको देखिन्छ । नेपालमा यदि यो भाइरस फैलिए बालबालिका जोखिममा पर्न सक्ने जोखिमलाई यसर्थ पनि बेवास्ता गर्ज नहुने देखिन्छ ।

    बालबालिकामा एमपक्ससँग मिल्दोजुल्दो लक्षणहरु देखिए र बालबालिकाका कोही आफन्त एमपक्स देखिएको देशबाट भर्खरै फर्केको रहेछ भने एमपक्सको लागि थप परीक्षण गर्नु जरुरी हुन्छ । एमपक्स असुरक्षित यौन सम्पर्क वा क्रियाकलापबाट पनि सहजै सर्ने गर्छ । त्यसैले जोकोही एमपक्स फैलिएको देश वा ठाउँबाट आएको वा सम्भावित संक्रमितसँग सम्पर्कमा रहेको भए आफूलाई कम्तीमा तीन हप्ता यौन सम्पर्क वा क्रियाकलापबाट टाढा राख्नुपर्छ । यदि संक्रमित भएर निको भएको अवस्था भए तीन महिनापछि सुरक्षित तरिकाले मात्र यौन सम्पर्क गर्न सकिनेछ ।

    विश्व स्वस्थ संगठनले अहिले पनि दोस्रो पटकको जनस्वास्थ आपतकाल घोषणालाई निरन्तरता दिइरहेको छ । यस अर्थमा पनि एमपक्सको जोखिम कायममै छ भन्ने बुझिन्छ । नेपालमा एमपक्सको जोखिम मध्यपूर्वका देशहरुबाट मात्र छैन । हाल यातायातको सहज पहुँचका कारण विश्वका कुनै पनि देशबाट नेपालमा आयातीत नहोला भन्न सकिंदैन । यसको फैलिने जोखिम नेपालमा विभिन्न कारणले रहेपनि समयमा नै पहिचान गरी सही परामर्श वा उपचार गर्न सके यो रोग सहजै निको हुनसक्छ ।