२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या ७०
  • सिमराः  विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा परेको छ ।

    जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेश पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै फलोअनमा परेको हो ।

    टेस्ट क्रिकेटमा कुनै टोली २ सय रनले पछि परे फलोअनमा पर्दछन् । दुईदिवसीय खेलमा भने १ सय रनले पछि परेको टोलीले फलोअन पर्छ ।

    फलोअनमा परेको टोलीले अल आउट भए लगत्तै फेरि ब्याटिङ गर्नु पर्ने हुन्छ । यस खेलमा पनि मधेशले पहिलो इनिङमा अल आउट भए लगत्तै फेरि ब्याटिङको सुरुवात गरेको छ ।

    पहिलो इनिङमा मधेश १ सय २ रनमा अल आउट हुदै १ सय २३ रनले पछि परेको थियो । मधेशका लागि कप्तान हरिशंकर शाह ३१, अभिषेक तिवारी १३, मयन यादव ११ र प्रदिप पासवान १० रनमा आउट भए ।

    आर्मीका लागि साहबले १२ ओभरमा ३७ रन खर्चिएर ६ विकेट लिए । पवन कार्की, बसिर अहमद, आकाश चन्द र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।

    त्यसअघि बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितीमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

    आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए ।

    भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । ओपनर इम्रान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिए ।

    पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी ३० अंकका साथ दोस्रो स्थानमा छ । एक खेलमा हार तथा एकमा बराबरी खेलेको मधेश २१ अंकका साथ तालिकाको पुछारमा छ ।