सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले सिमराको नव–जनजागृति युवा क्लबलाई न्यानो कपडा सहितको खेल सामग्री हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष हिराबहादुर गुरुङ्गले क्लबका अध्यक्ष रामचन्द्र लामालाई शुक्रबार सिमरा रङ्गशालामा आयोजित एक कार्यक्रमका विच २५ थान ज्याकेट सहितका विभिन्न खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।
महोतरीको जलेश्वरमा जारी मधेश प्रदेश लिगको फाइनल पुगेको नव–जनजागृति यूवा क्लबका खेलाडीहरुका लागि आवश्यक ज्याकेट लगायत १ लाख मुल्य बराबरका अन्य खेल सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष हिराबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य अमन लामा, क्लबका प्रथम उपाध्यक्ष शंकरबहादुर थापा, द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठ लगायत क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बारा जिल्ला लिगमा प्रथम भएको नव–जनजागृति युवा क्लब प्रदेश लिगको फाइनलमा प्रवेश गरेको छ । प्रदेश लिगको उपाधिका लागि नव–जनजागृति युवा क्लबले आगामी १३ गते हुने फाइनल खेलमा सप्तरीसंग प्रतिष्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस