सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सहकारीकर्मीहरुलाई नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस स्टान्डर्ड) तालीम प्रदान गरिएको छ ।
‘सहकारीमा सुशासन : प्रविधि र एकिकरण’ भन्ने नारा सहित शुक्रबारबाट शुरु भएको दुई दिने तालिमको शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमूख भोलाप्रसाद अधिकारीले समापन गर्नुभयो ।
वित्तीय संस्थाहरुको अन्तराष्ट्रिय गुणस्तर मापदण्डका रुपमा रहेको एनएफआरएस स्टान्डर्ड ढाँचामा वितीय विवरण अद्यावधिक राख्न सहजीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय सहकारी बैंक सिमरा शाखासंगको समन्वयमा तालिमको आयोजना गरेको हो ।
एनएफआरएस तालिमको महत्व के हो ?
सहकारी ऐन २०७४ तथा नेपालमा प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अनुसार पचास करोड भन्दा बढी कारोबार गर्ने सहकारी संघसंस्थाहरुले अनिवार्य एनएफआरएस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने व्यवस्था अनुसार वित्तीय कारोबारलाई थप यथार्थपरक र स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पु¥याउन तालिम महत्वपूर्ण रहेको सिमराका चार्टड अकाउण्टेन्ट एवं तालिमका सहायक प्रशिक्षक सरोजकुमार भट्टले बताउनुभयो ।
एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थगन लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिईएका थिए । त्यसैगरी एनएफआरएस अनुसार तयार पार्नुपर्ने प्रतिवेदनको विषयमा सहभागिलाई प्रशिक्षण दिईएको थियो ।
तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएसमा देखिएका फरकहरूको बारेमा सिकाई एवम् अभ्यास समेत भएको तालिमका सहभागि साना किसान कृषि सहकारी संस्था डुमरवानाका मच्छिन्द्र भण्डारीले बताउनुभयो ।
तालिममा सहभागीहरुले तालिमबाट एनएफआरएस ढाँचामा वित्तीय प्रतिवेदनलाई परिवर्तन गर्ने बारे प्रयोगात्मक सिकाइ हासिल भएकोमा खुसी व्यक्त गरेका छन् । तालिममा सहभागिलाई मूख्य प्रशिक्षकका रुपमा चार्टड एकाउन्टेन्टस् (सिए) महेश घिमीरे र सहायक प्रशिक्षकका रुपमा सिए सरोजकुमार भट्टले सहजिकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस