२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार



  • नयाँ इतिहास
  • ४ हप्ता अघि
  • पाठक संख्या १९४
  • पोखरा : पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो । 

    शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।

    संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो । 'मैले राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो,' अध्यक्ष सुवेदीले भने । घटनाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि विरोध जनाएका छन् । 

    'सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध  गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा  अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र  आक्रमण भयो,' आचार्यले भने, 'यो घटना निन्दनीय छ । यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ ।' उनले गिरीमाथि कानुनी कारबाही हुने चेतावनी दिए ।