सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले मंगलबार आधारभूत तहको परीक्षा केन्द्र अवलोकन गरेका छन् ।
उपमहानगर भित्र रहेका विभिन्न परीक्षा केन्द्र पुगेका नगर प्रमुखले परीक्षा हल बाहिरैबाट परीक्षाको अनुगमन गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय आधारभूत तह परीक्षामा यसबर्ष २ हजार दुईसय ५१ परीक्षार्थी सहभागी छन् । नीजि तथा सामुदायिक दुबै विद्यालयका लागि ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उपमहानगरका शिक्षा अधिकृत खुलप्रसाद (किरण) गौतमले जानकारी दिए ।
वडा नम्बर २४ को हरपुर, वडा नम्बर ७ को जीतपुर, वडा नम्बर ५ को बकुलीया, वडा नम्बर २ को सिमरा, वडा नम्बर २१ को अमलेखगञ्ज, वडा नम्बर ४ को औराहा, वडा नम्बर १५ को डुमरवाना, वडा नम्बर १६ को डकाहा, वडा नम्बर १७ को जैतापुर, वडा नम्बर १९ को इनर्वासिरा र वडा नम्बर १६ कै टाँगीयाबस्तीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
टाँगीयाबस्तीमा रहेको एकमात्र माध्यमिक विद्यालयका लागि होमसेण्टर निर्धारण भएपनि अन्य परीक्षाकेन्द्र रहेका विद्यालयका विद्यार्थीले अर्को केन्द्रबाट परीक्षा दिईरहेका छन् ।
भौगोलिक बनावटका कारण टाँगीयाबस्तीका विद्यार्थीलाई अन्यत्र लैजाँदा समस्या पर्ने भएकाले टाँगीयाका विद्यार्थीहरुको हकमा परीक्षा समितिले होमसेण्टर कायम गर्ने निर्णय गरेको शिक्षा अधिकृत गौतले बताए ।
परीक्षा समितिले परीक्षा संगसंगै उतरपुस्तिका परीक्षणको कार्यपनि संगसंगै अघि बढाएकाले चैत्र महिना भित्रै नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस