सप्तरी : नयाँ वर्ष–२०८२ को आगमनसँंगै मिथिला क्षेत्रमा जुडशीतल (सिरुवा) पर्वको पनि आगमन भएको छ । जुडशीतल पर्वका अवसरमा बैशाख २ गते मङ्गलबार मधेश प्रदेश सरकारले मधेशका आठै जिल्लामा सार्वजनिक विदा दिएको छ ।
मिथिला संस्कृति अनुसार सांस्कृतिक कर्म गर्नेका लागि नयाँ वर्षको रौनकभन्दा पनि जुडशीतलमा बढी रमाउने परम्परा रहँदै आएको छ । अनेकौँ नामले प्रचलित यो पर्वलाई स्थानीय मैथिली भाषामा सिरुवा, बाइस पावनी र मेष सङक्रान्ती पनि भन्ने गरिन्छ ।
वैशाख १ गते चना, जौलगायत पाँच प्रकारका अन्न समावेश गरिएको सातु खाएर यो पर्व सुरु हुन्छ । त्यसको भोलिपल्ट वैशाख २ गते घरका ठुला व्यक्तिले बिहानै आफ्नो परिवार र टोलछिमेका आफूभन्दा कनिष्ठ व्यक्तिको टाउकोमा जल दिएर आशीर्वाद दिने चलन छ ।
‘सतुवाइन’ अर्थात् वैशाख १ गते पकाइएका भोजन सामग्री २ गते जुडशीतलका दिन देउतालाई चढाएर खाने भएको हुँदा यसलाई बाइसपावनी पनि भनिएको हो । मिथिला संस्कृतिको बलियो आधार क्षेत्र भएका तराईका भूभागमा नयाँ वर्षको उल्लासभन्दा पनि यहाँका सर्वसाधारण जुडशीतलको रौनकतामा बढी रमाउने गरेका मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षि बताउनुहुन्छ । उहाँले नयाँ वर्ष क्यालेन्डर परिवर्तन हुने एउटा उत्सव मात्रै भएको र जुडशीतल मिथिलाको महŒवपूर्ण संस्कृति भएको हुँदा मिथिलावासीका लागि नयाँ वर्षभन्दा पनि जुडशीतलको विशिष्ट महŒव रहेको बताउनुभयो । जुडशीतल मानव स्वास्थ्य, प्राकृतिक वातावरण संरक्षण र समाजलाई जोड्ने पर्वका रूपमा मनाइँदै आएको उहाँले बताउनुभयो ।
वैशाखदेखि मिथिला क्षेत्रमा गर्मी सुरु भएको मानिने भएकाले आँपको टिकुला, सजिवन (मुनिगा वा सोहिजन) जस्ता शीतलता प्रदान गर्ने स्वास्थ्यवर्धक भोजन ग्रहण गर्ने दिनका रूपमा पनि यस पर्वको महत्व छ ।
ठुलाबडाले घरपरिवारलगायत टोलछिमेकमा रहेको आफूभन्दा कनिष्टको टाउकोमा जल दिने, फलको राजा मानिने आँपको टिकुला देउतालाई चढाएर चाख्ने, वृक्षहरूको जरामा पानी हाल्ने जस्ता शीतलतासँग जोडिएका कर्म जुडशीतलमा गरिने भएकाले यसको विशिष्ट महत्व रहेको पे्रमर्षिले बताउनुभयो ।
अघिल्लो पुस्तासम्म जुडशीतलका दिन एकअर्काको जिउमा हिलो छ्याप्ने परम्परा थियो तर अहिले त्यो परम्परा हराउँदै गएको छ । जिउमा ‘थालकादो’ अर्थात् पोखरी तलाउमा भएको हिलो छ्याप्नु भनेको गर्मीको समयमा मानवको शरीरमा शीतलता प्रदान गर्नु र समाजले सामूहिक रूपमा पोखरी तलाउमा जमेको हिलो सफा पार्ने अभियान जस्तै हुन्थ्यो तर अहिले त्यो परम्परा हराउँदै गएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस