कतै सुनेको, पढेको कथाबाट सुरु गरौँ- एकादेशमा एउटा मान्छे साह्रै चिन्ताग्रस्त भएछ । आफ्नो तनाव मेटाउन एक जना बौद्ध भिक्षुकहाँ पुगेर भनेछ, ‘तपाईं सधै शान्त र खुशी देखिनुहुन्छ, मलाई पनि तपाईं जस्तै बनाइदिनुस्, म जे गर्न पनि तयार छु ।’ जवाफमा भिक्षुले एउटा चिन्तारहित मान्छे खोजेर ल्याउन भनेछन् । उ सिधै एउटा ब्यापारीकहाँ गएछ, जो सधैं पैसा गनिरहन्थ्यो, मानिसहरूसँग हाँसेर ब्यवहार गर्थ्यो, खुशी देखिन्थ्यो । आफू चिन्तारहित मान्छेको खोजीमा भएको बताउँदै उसले ब्यापारीलाई एकछिन आफूसँग हिँडेर भिक्षुसम्म पुग्नका लागि अनुरोध गरेछ । जवाफमा ब्यापारीले भनेछ- ‘तिमीले हेर्दा म खुशी देखिएपनि म धेरै दुःखी मानिस हुँ । ब्यापार ब्यवसाय चलाउन सजिलो छैन, ऋण छ, छोराछोरी आफ्नै तालमा छन, सघाउँदैनन्, एक्लै गर्नुपर्छ । मेरा ब्यथा-कथा धेरै छन्, म तिमीले खोजेको मान्छे हुन सक्दिनँ ।’ ‘तपाईंको विचारमा खुशी मान्छे को होला त ?’ भनेपछि उसले एकजना किसानको नाम लिँदै भनेछ, ‘उ खेती गर्छ, अन्नबाली म किनिदिइहाल्छु, सामान बेचेर पैसा हात परेपछि हाँस्तै घर फर्किन्छ, श्रीमती छोराछोरीको पनि साथ छ । मैले चिनेमध्येको खुशी त उ नै होला ।’
किसानलाई भेटेर सोही कुरा बताएपछि पसिना पुछ्दै किसानले भनेछ, ‘कहिले पानी नपरेर खडेरीका कारण उब्जनी हुँदैन, कहिले असिना पर्छ । बाली आएदेखि उठाउँञ्जेलसम्म चिन्ता भइरहन्छ, अरु ब्यक्तिगत दुःख पनि धेरै छन् । म तपाईंका लागि सही मान्छे होइन ।’ ‘त्यसोभए तपाईंको विचारमा चिन्तारहित र खुशी मान्छे को होला त ?’ भन्ने प्रश्नको जवाफमा किसानले एक जना मन्त्रीको नाम लिँदै भनेछ, ‘हिजो उनी यही बाटो हिँडेका थिए । धन सम्पत्ति, मोटर, गार्डहरू, त्यत्रो मान-सम्मान, राजाले विश्वास गरेका पनि उनै हुन् भन्ने सुनिन्छ, एकपल्ट भेट्नुस् न !’
मन्त्रीसम्म पुगेपछि मन्त्रीले भनेछन्, ‘म त तरबारको धारमा जिन्दगी राखेर बाँचिरहेको छु, अलिकति तलमाथि भयो भने राजाले के गर्लान् ? जनतालाई गरेको बाचा पनि पूरा गर्न सकेको छैन, राति राम्ररी ननिदाएको कति भयो ।’ त्यसोभए को होला त खुशी मान्छे ? जवाफमा उनले भनेंछन्, ‘सबै काम हामीले गरिदिएकै छौँ, राजा नै त हुन्, अरु को हुन्छ र ?’ मन्त्रीमार्फत राजासम्म पुगेपछि राजाले भनेछन्, ‘राजकाज चलाउन जस्तो कठिन काम संसारमा के होला ? म प्रत्येक क्षण चिन्तामा रहन्छु । देशलाई कसरी समृद्ध बनाउने भन्ने चिन्ता एकातिर छ, आफ्नैले केही गरिदेलान् कि भन्ने तनाव अर्कोतिर छ । कहिलेकाहीं त आफ्नै सुरक्षाकर्मीहरूसँग पनि डराउँछु, के थाहा कसको मनमा के छ ? राति पटक-पटक ब्युँझन्छु, राम्ररी नसुतेको धेरै भयो । म तिमीले खोजेको मान्छे हुन सक्दिनँ ।’
सबै विवरण बताएपछि भिक्षुले भनेछन्, ‘देख्यौ ? चिन्तारहित मान्छे कोही छैन, घटना सन्दर्भलाई आफूले कसरी लिने भन्नेमात्रै हो । तिमी आफूले अरुलाई तनाव दिने काम नगर, अरुको बारेमा नराम्रो नसोच, तिम्रो चिन्ता आफै कम भएर जान्छ ।’
हुन पनि जिन्दगीमा सडकदेखि सदनसम्म, घरबारविहीनदेखि दरबारसम्मका मानिसहरूलाई भेट्दा म खुशी छु, सबै ठिक छ भन्ने मानिस भेट्न सकिएको छैन । सुखी मानिसहरू यत्रतत्र भेटिएपनि खुशी र चिन्ताविहीन मानिस आजसम्म भेटिएको छैन । खुशीको श्रोतको बारेमा हामीकहाँ खासै चर्चा पनि हुँदैन ।
शास्त्र भन्छ– जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी हुन्छन्, ती हुन्- ‘विद्या, असल जीवनसाथी, नियमित पैसा आउने या गरिखाने ठाउँ, राम्रो स्वास्थ्य र भनेको मान्ने अर्थात् आज्ञाकारी सन्तान ।’ तर यी पाँच कुरा एउटै मानिसको जीवनमा एकैपल्ट भइरहेका हुँदैनन् । कोही विद्वान् छन् तर जीवनसाथीसँग राम्रो सम्बन्ध छैन । कसैको पति-पत्नीबीच सम्बन्ध राम्रो छ तर धन आर्जन हुने ठाउँ छैन । कसैको पति-पत्नीबीच राम्रो सम्बन्ध छ, विद्या पनि छ तर सन्तानबाट सुख छैन । कसैको सन्तानबाट सुख छ, गरिखाने ठाउँ छ, सम्बन्ध पनि राम्रो छ तर स्वास्थ्य राम्रो छैन । यी पाँचै कुराको तालमेल मिल्ने मान्छेहरूको संख्या खोज्दै गयो भने नभेटिन पनि सक्छ या अत्यन्त थोरै छ । आफूवरिपरिको परिस्थिति जे-जस्तो भएपनि आफू खुशी हुँदा संसार राम्रो देख्ने र दुःखी हुँदा संसार अँध्यारो देख्नेहरूको संख्या ठुलो छ ।
यो संसारमा दुःखी मानिसहरू धेरै होलान् कि सुखी ? दुःख केलाई मान्ने ? खुशी केलाई ठान्ने ? खुशी र पीडा मनसँग सम्बन्धित छ । सुख र दुःख शरीरसँग सम्बन्धित छ । सुख पाउनुको अर्थ शरीरलाई आराम या शरीरलाई आनन्द महसूस हुने कुरा हो । सुख र दुख त फरक हुन नै, सुख र खुशीपनि फरक कुरा हुन् । सुखको अनुभूति शरीरले गर्छ भने खुशीको महसूस मनले गर्छ । खुशी कहाँबाट प्राप्त हुन्छ ? खुशीको श्रोत के हो ? भनेर खोजी गर्ने हो भने खुशीको स्थायी श्रोत अहिलेसम्म कतैपनि फेला परेको छैन । पैसा या धन सम्पत्ति नहुनेका लागि पैसा भयो भने खुशी मिल्छ तर त्यो खुशी क्षणिक हुन्छ । जब पैसा हुन्छ अनि मान्छे फेरि खुशीको खोजीमा यता मिल्छ कि उता मिल्छ कि भनेर भौंतारिन थाल्छ । धन सम्पत्ति, नाम, मान, प्रेम, मदिरा, प्रेमी या प्रेमिका, पति या पत्नी, सन्तान यी र यस्ता अनेक कुरामा मानिसहरू खुशी खोजिरहेका हुन्छन् । मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफू खुशी हुनकै लागि गरिरहेका हुन्छन् । आफ्ना साना, ठुला हरेक उपलब्धिमा मानिस खुशी हुन्छ तर प्राप्तिको कुनै सीमा हुँदैन । त्यसैले खुशीको सिमा या स्थाई श्रोत यही हो भनेर भन्न सक्ने अवस्था छैन ।
एक पल्ट गौतम बुद्धसँग दुई दिन बसेपछि एक ब्यक्तिले आफू जीवनमा धेरै दुःखी भएकाले खुशी हुने उपाय सुल्झाउन आग्रह गरेछन् । जवाफमा बुद्धले आफूले अहिलेसम्म पाएको दुःखलाई एकातिर लाइन लगाएर लेख्नु अनि अर्को लाइनमा आफूले पाएको सुख र खुशी लेख्नु भन्दै दुःख र खुशीको कारण पनि लेख्नु भन्नुभएछ । ती ब्यक्तिले दुःख लेख्ने क्रममा सुरुमा लेखेछन्, मैले धन कमाउन सकिनँ, कारणमा लेखेछन्- किनभने मैले जति काम र मेहेनत गर्न सक्थेँ त्यति गरिनँ । दोश्रो नम्बरमा लेखेछन्- ‘मेरो परिवारले मलाई राम्रो गर्दैनन्, जसका कारण म निकै दुःखी छु, कारण- मैले उनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । तेश्रो, छिमेकीहरू मसँग राम्ररी बोल्दैनन्, कारण- मैले छिमेकीलाई मर्दापर्दा कहिल्यै सहयोग गरिनँ । आफैले लेखेका कारणसहितका दुःखका श्रृङ्खला बुद्धलाई देखाउन उनलाई अप्ठ्यारो लागेछ । त्यसपछि सुख र खुशीको लाइनतिर लागेनछन् ।
कसैको ब्यवहार, सम्बन्ध, बोलीचाली, सफलता जे कुराले आफूलाई खुशी दिएका थिए ती सबै आफ्नै काम, मेहेनत, बोली बचन र दानका परिणाम थिए । त्यसैले मानिसको खुशीको श्रोत आफैभित्र छ, आफ्नै ब्यवहारमा छ । तपाईंले कसैलाई लगातार राम्रो गरिरहनुभयो भने एकदिन अवश्य नै उसले तपाईंलाई राम्रो मान्नेछ । खुशीको श्रोत पनि हामी आफै हौँ र दुःखको पनि आफै हौँ । कतिपय कुराहरू जो आफ्नो हातमा हुँदैनन्, तिनमा दुःखी हुनुको अर्थ छैन । ब्यक्तिगत र ब्यवसायिक दुवै जीवनमा आफूले बोल्ने शब्दहरू, गर्ने ब्यवहार र लिने निर्णयहरू मूलतः हाम्रा दुःख र खुशीका श्रोत हुन् ।
प्रतिक्रिया दिनुहोस