काठमाडौं : विसं २०६० पछिको एक दशकमा टेलिभिजनमा टेलिसिरियलको दबदबा उच्च विन्दुमा थियो । सबैको घर–घरमा टेलिभिजनको पहुँच नभएकाले समय कुरेर सिरियल हेर्नेको छिमेकीको घरसम्म पुग्नेको संख्या बाक्लो थियो ।
‘मेसी बास्सै’, ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ जस्ता सिरियल त्यसबेला धेरैको टेलिभिजन किन्ने बाहानासमेत थिए । ती सिरियलका मियो कलाकार अहिले ठूलो पर्दामा सरेका छन् । त्यसबेलाका धेरै चर्चित कार्यक्रम बन्द नै भए ।
टेलिभिजन अहिले धेरैको घरमा चल्तीमा छैन । प्रविधिमा भएको विकासको फड्कोले टेलिभिजन नै संकटमा छ ।
मुख्य कलाकारको बर्हिगमनपछि पनि हालसम्म निरन्तरता पाएका सिरियलहरु टेलिभिजन सेट अगाडि बसेर हेर्ने दर्शक पातलिए । भ्युजका हिसाबमा टेलिभिजनको पर्दा कमजोर साबित भए । विकल्पका रुपमा युट्युबमा प्रशारण हुन थाल्यो ।
नयाँ पुराना सबै सिरियल दर्शकसमक्ष पुग्न सामाजिक सञ्जालकै भरमा छन् । यतिसम्म कि कतिपय सिरियल युट्युबमै मात्र प्रशारण हुन्छन् । विज्ञापनदाताको मागले केही भने आफ्ना कार्यक्रम टेलिभिजनमा देखाउन बाध्य छन् ।
स्रोत भन्छ, ‘हुन त टिभीमा प्रशारण हुने भनेपछि अलि कार्यक्रमको ओज पनि बढ्छ । मुख्य कुरा चाहिँ विज्ञापनदाताले आफ्नो विज्ञापन टिभीमा बजाउन खोजेका कारण धेरैले टिभीको समय किनेका हुन् ।’
युट्युबमा नयाँ सिरिलको दबदबा
अहिले नयाँ पुराना गरेर एक दर्जन टेलिसिरियल चर्चामा छन् । पुराना लोकप्रिय सिरियलबाटै निस्केका कलाकारले ल्याएका कार्यक्रम हिट छन् ।
पछिल्लो समय कलाकार आशा खड्काका दुई सिरियलले बजार तताएका छन् । उनले निर्माण गरेको ‘कान्छी’ र ‘भुन्टी’ भ्युजका आधारमा सबैभन्दा हिट छन् ।
मेरी बास्सैका पुराना कलाकार राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्बे (मरिचमान श्रेष्ठ) ले निर्माण गरको सिरियल जुठे दर्शकले रुचाएका कार्यक्रम हुन् । युट्युबमा यी सिरियल हरेक भाग १० लाख बढी दर्शकले हेर्छन् । मरिचमानको अर्को सिरियल ‘हल्का रमाइलो’ पनि दर्शकले रुचाएको कार्यक्रम हो ।
भद्रगोलबाट निस्किको टिमले बनाएको ‘सक्किगोनि’ पनि युट्युबमा दर्शकले अति रुचाएको सिरियल हो । यो कार्यक्रमका हरेक पात्र हिट छन् ।
यी दुई सिरियलमा आउनुभन्दा अघि यी कलाकार आबद्ध भएको सिरियलमा भने भ्युजको खडेरी नै लागेको छ भन्दा फरक पर्दैन । कथावस्तु र कलाकारकै कारण कारण नयाँ सिरियलका अगाडि पुराना कमजोर साबित भएका छन् ।
मेरी बास्सैका एक कलाकार नाम खुलाउने सर्तमा खबरहबसँग भन्छन्, ‘टिम निस्कियो, अहिले खासै प्रभावकारी बन्न सकेन । अब ९०० भाग पुग्न लाग्यो एक हजार पुर्याएर बन्द गराउने बुझेको छु ।’
पछिल्लो समय कलाकार आशा खड्काका दुई सिरियलले बजार तताएका छन् । उनले निर्माण गरेको ‘कान्छी’ र ‘भुन्टी’ भ्युजका आधारमा सबैभन्दा हिट छन् । भुन्टीको हरेक भाग ५० लाखभन्दा बढी दर्शकले हेर्छन् । त्यस्तै कान्छीको हरेक भाग हेर्ने दर्शकको संख्या २० लाखभन्दा बढी छ ।
त्यस्तै ‘बुहारी’, ‘सिता’ पनि बढी युट्युबमा बढी भ्युज पाउने सिरियल हुन् ।
कस्ता सिरियल छन् रोजाइमा ?
पहिला लोकप्रिय सिरियल फरक किसिमका थिए । मेरी बास्सै गाउँको कथामा आधारित थियो भने जिरे खुर्सानी र तितो सत्यले सहरका मध्यम वर्गीय परिवारको कथा बोकेका थिए ।
अहिले ठूलो पर्दाका चलचित्र समेत गाउँ, क्षेत्र र विशेष समुदायमा आधारित कथामा निर्माण छन् । अहिले चर्चामा रहेका सिरियलको अवस्था हेर्दा पनि दर्शकले गाउँकै मौलिक कथालाई रुचाएको पाइन्छ ।
गरिबी, साक्षर विहीन, पारिवारिक कलह र गाउँले परिवेशका आधारित कथाकै टेलिसिरियल दर्शकले रुचाइएको पाइन्छ ।
पहिलाका सिरियल व्यङ्ग्य र हाँसोले बढी स्थान पाउँथे भने अहिले नयाँ सिरियल भावुक बनाउने किसिमका छन् ।
Khabarhub.com
प्रतिक्रिया दिनुहोस