चत्तेरिका साइँली रिमै
हत्तेरिका साइली रिमै
मलाई पल्लारे साइँलोले …
म त ढलेँ ढलेँ
शान्तिरानी परियारले गाएको यो गीत पछिल्लो समय धेरैको मुखमा झुण्डिएको छ । अनि सोसल मिडियामा भाइरल हुँदै देश-विदेशमा चर्चा पाइरहेको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत छ ।
यो गीत सन् २०२४ मा अडियो प्लाटफर्ममा सबैभन्दा धेरै सुनिने गीतको तेस्रो स्थानमा समेत रहेको छ । तीन महिनाअघि युट्युबमा रिलिज भएको गीतले हालसम्म ३ करोड ८९ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।
एकातिर ‘ढलें ढलें’ गीत हिट भइरहेको छ, अर्कोतिर गीतले भन्न खोजेको के हो ? गीत बुझिएन, गीत भल्गर भयो भन्ने कुरा पनि उठिरहेका छन् ।
गीतको प्रशंसाका साथै आलोचना पनि भइरहेको बेला यो गीतकी गायिका शान्तिरानी परियार यसलाई पनि दर्शक-श्रोताको मायाकै रुपमा लिनुपर्ने बताउँछिन् ।
‘सिङ्गो टिमको मेहनत, तालमेलले गीत राम्रो बनेको होला । साथै,पल शाहले जुन तरिकाले अभिनय गर्नुभएको छ, त्यसले पनि दर्शकलाई आकर्षित गरेको हुनुपर्छ’ अनलाइनखबरसँग उनले भनिन्, ‘उहाँले मेला-महोत्सवमा गएर ढलें ढलें भनेर दर्शक नचाउँदै, रमाउँदै प्रचारप्रसार गर्दै आउनुभएको छ । त्यो पक्षले पनि गीत सफल हुनुमा ठूलो भूमिका खेलेको छ ।’
यो गीत मनोरञ्जनका लागि भएको र नराम्रो हुन्थ्यो भने दर्शकले यति धेरै मन नपराउने उनी बताउँछिन् । केही आलोचनालाई सुझावको रुपमा लिनुपर्ने उनी बताउँछिन् ।
१२ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय शान्तिरानीको यो पहिलो हिट गीत समेत बनेको छ । ‘यो गीत हिट भएपछि देशभरका मेला-महोत्सवमा निकै व्यस्त भइरहेकी छु’ शान्तिरानीले भनिन् । यसलाई भाइरल भन्दा पनि दर्शक-श्रोताले धेरै रुचाएको गीतको रुपमा उनी लिन्छिन् ।
‘गीत चल्न ताली र गाली दुवै आवश्यक हुने रहेछ । जति दर्शकले नराम्रो भन्नुभएको छ, उहाँहरुले नै दोहोर्याएर गीत हेरेर झन् चलेको जस्तो लाग्छ’ उनी अगाडि भन्छिन् ।
‘ढलें ढलें’ गीतका संगीतकार हुन् खेम सेञ्चुरी । खेम आफैंमा चर्चित गायक समेत हुन् । खेमलाई सोधियो- ‘ढलें ढलें’ किन यतिविघ्न चल्यो ?
‘गीत रमाइलो, नाच्न मिल्ने, गाउँघरतिर प्रयोग हुने शब्दलाई समावेश गरेर विशुद्ध मनोरञ्जनका लागि तयार पारेका हौं’ आलोचनाबारे उनी भन्छन्, ‘गीत नराम्रो हुन्थ्यो भने दर्शकले यति मन पराउनुहुने थिएन । देश-विदेशमा चर्चा हुने थिएन । बच्चादेखि वृद्ध सबैले घुम्न जाँदादेखि हरेक ठाउँमा भिडियो बनाउनु हुने थिएन होला नि । यो दर्शकको हेर्ने नजरमा भर पर्ने कुरा हो ।’
उनले गीतलाई रमाइलोका लागि लिइदिन आग्रह गरे । गीतमा प्रयोग गरिएका ‘साइँला दाइ, हत्तेरिका, ढलें ढलें जस्ता शब्द गाउँघरतिर सामान्य बोलीचालीकै शब्द भएको खेम बताउँछन् ।
‘सङ्गीत मेरो लागि सरस्वतीको वरदान हो । आफूले बनाएका हरेक गीत चाहे चलुन् नचलुन् गीत-सङ्गीतलाई सधैं आफूभन्दा माथिको दर्जा दिने गर्छु’ उनी भन्छन्, ‘दर्शकको रामो नराम्रो दुवै प्रतिक्रिया मलाई स्वीकार्य छ । यसमा कुनै आपत्ति छैन । गीत सिर्जना गर्दा आफूले राम्रो नै सोचेर बनाइएको हुन्छ, समाजमा भइरहेका कुरालाई समावेश गरेर त्यसलाई कथामा उतारेर गीत बनाउने हो ।’
खेमका एकपछि अर्को गीत चर्चित भइरहेका छन् । ‘अरेली काँडैले’, ‘कमाउने नि हो रमाउने नि हो’, ‘कट्टा हान्दिन्छु’, ‘झ्यालमा पर्दा छ’, रमरम मरौटी’ जस्ता हिट गीतका संगीतकार हुन् उनी ।
प्रतिक्रिया दिनुहोस