सिमरा : यूवाहरुका लागि उद्यमशिलता तथा वीतीय साक्षरता सम्बन्धी सात दिने तालिम आइतबारबाट सिमरामा शुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका र राष्ट्रिय यूवा परिषदको साझेदारीमा शुरु भएको तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाका १६ देखि ४० बर्ष उमेर समूहका ३५ जना यूवा उद्यमीको सहभागिता रहेको छ ।
उपमहानगरपालिकाले तालिममा सहभागि हुन चाहने युवाहरुका लागि सूचना प्रकाशन गरेर आवेदन मागेको थियो । अन्तराष्ट्रिय श्रम संगठनको तालिम प्याकेज अनुसार सञ्चालन हुने उक्त तालिम आगामी फागुन ३ गतेसम्म चल्नेछ ।
यूवाहरुलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भर बनाउँदै सबल अर्थतन्त्रको विकासका माध्यमबाट समृद्ध नगर निर्माणमा यूवाहरुलाई सहभागी गराउने उद्देश्यले विभिन्न उद्यम तथा व्यवसाय गरिरहेका र आफ्नो उद्यम व्यवसायको सुधारको सोंच बनाएका युवाहरुलाई तालिममा सहभागि गराईएको तालिमका संयोजक दिपनारायण रायले जानकारी दिए ।
जीतपुरसिमरा–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा शुरुभएको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमूख भोलाप्रसाद अधिकारीले आइतबार विहान उद्घाटन गर्नुभयो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, साना किसान कृषि सहकारी संस्था सिमराकी अध्यक्ष कमला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिकाकी सदस्य प्रभावती पासवान, नगर सभा सदस्य विशाल घिमीरे लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागिहरुलाई राष्ट्रिय यूवा परिषदका प्रशिक्षकहरु बालकृष्ण गैरे र सावित्रा आचार्यले प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया दिनुहोस