२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

नगर सभाको पूर्व सन्ध्यामा डाकिएको कार्यपालिका बैठक बस्न सकेन



  • नयाँ इतिहास
  • १० महिना अघि
  • पाठक संख्या ३४६
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आइतबार दिउसोका लागि राखिएको कार्यपालिका बैठक बिना छलफल स्थगित भएको छ । 
    आगामी असार ६ गतेका लागि निर्धारित दशौं नगर सभाको पूर्व सन्ध्यामा आइतबार डाकिएको कार्यपालिका बैठक कार्यसुचीमै प्रवेश गर्न नसकेको कार्यपालिका सदस्य एवं वडा नम्बर १६ का वडाअध्यक्ष हरिदेव खरेलले जानकारी दिए । 
    कार्यपालिकामा छलफलनै नगरी दशौं नगर सभाको मिति तोकिएको लगायतका विषयमा कार्यपालिका सदस्यहरुले विरोध जनाएको वडाध्यक्ष खरेलको भनाई छ । नगर प्रमुख राजन पौडेलले एकलौटी ढंगबाट उपमहानगर चलाउन खोजेको महशुस आफूहरुले गरेको खरेलले बताए । ‘हामी सबै कार्य विधिबाट चल्नुपर्ने मान्यता राख्दछौं तर यहाँ विधिलाई कुल्चिएर व्यक्तिबाट पालिका चल्न थाल्यो, हामीले त्यसको विरोध गरेका हौं, बैठक बहिष्कार गरेका होइनौं’ वडाध्यक्ष खरेलले भने । 
    वडाध्यक्ष खरेलका अनुसार आइतबारको बैठकका लागि कार्यपालिकामा कुनै कार्यसूची पेश हुन सकेन । उनका अनुसार काँग्रेस र एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले आइतबारको बैठकको उपस्थितीमा समेत हस्ताक्षर नगरेपछि बैठक स्थगित भएको हो । 
    आगामी विहीबार नगर सभा 
    उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट आगामी असार ६ गते विहिबार ल्याउने तयारी गरेको छ ।
    गत शुक्रबार सूचना प्रकाशन गर्दै उपमहानगरले आर्थिक बर्ष २०८१।८२ का लागि निति तथा कार्यक्रम र बजेटको प्रस्ताव सहितको दशौं नगरसभा आगामी विहिबारका लागि तय भएको जानकारी दिइसकेको छ ।  
    बजेट घट्ने चर्चाले वडाध्यक्षहरु असन्तुष्ट
    देशभरका स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार समय भित्रै बजेट ल्याउने तयारी गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले यसबर्ष वडा स्तरीय बजेट घटाउने तयारी गरेपछि वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् । चालु आर्थिक बर्ष २०८०।८१ मा अधिकतम २ करोड रुपैयाँ सम्म वडास्तरीय बजेट विनियोजन गरेको उपमहानगरपालिकाले यसपटक अधिकतम ७५ लाख रुपैयाँ मात्र वडास्तरीय बजेट ल्याउने तयारी गरेको चर्चा चल्न थालेको छ । भुगोल र जनसंख्या र आन्तरिक आयका आधारमा वडाको बजेट निर्धारण हुनेछ ।
    बजेट ल्याउनुपुर्व उपमहानगरपालिकाले आन्तरिक आयको प्रक्षेपण, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र वडास्तरीय बजेटबाट सञ्चालन हुने योजनाको प्रभावकारिताका विषयमा यसअघि छलफल समेत गरिसकेको छ । 
    वडास्तरमा बढि बजेट विनीयोजन हुँदा साना योजनामा लगानी बढी हुने र सो को प्रभावकारीता नदेखिने भएकाले वडाको सिलिङ घटाएर नगरस्तरीय बजेटबाट प्रभावकारी एवं दीर्घकालीन योजनामा लगानी गर्ने तयारी नगर प्रमुख राजन पौडेलले गरेका छन् । यसपटक उपमहानगरले वितरणमुखी बजेटमा कटौती गर्ने तयारी गरेको बुझिएको छ ।