सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगर सभाका विषयमा छलफल गर्न दोश्रो पटक डाकिएको कार्यपालिका बैठकमा सहमती हुन नसकेपछि अधिकाँश नगर सभा सदस्यले बहिष्कारको तयारी गरेका छन् ।
विहीबारका लागि तोकिएको नगर सभाका विषयमा छलफल गर्न बुधबार नगर प्रमुख राजन पौडेलले दोश्रो पटक कार्यपालिका बैठक बोलाएका थिए तर कार्यपालिका दलीय रुपमा विभाजन भएपछि कुनै निर्णय हुन नसकी स्थगित भएको छ ।
यसअघि गत आइतबार बोलाईएको कार्यपालिका बैठक पनि स्थगित भएको थियो । बुधबार दिउसोको बैठकमा पनि सहमती हुन नसकेपछि नगर प्रमुख राजन पौडेल बैठक छाडेर बाहिरीएका थिए । त्यस लगतै नगर उपप्रमुख भोला प्रसाद अधिकारी सहित नेकपा एमाले, नेपाली काँग्रेस, एकिकृत समाजवादी र लोसपाबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुको बैठक बसी बजेटका विषयमा कार्यपालिकाबाट सहमती खोजी नगरसभा सम्पन्न गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
सामुहिक हस्ताक्षर सहित बुझाईएको ध्यानाकर्षण पत्रमा नगर प्रमुखको नेकपा माओबादी केन्द्रबाट वडा नम्बर ११ र १९ मा निर्वाचित वडाध्यक्षहरु विन्दालाल साहले पनि हस्ताक्षर गरेका छन् ।
वडाको सिलिङमा असन्तुष्टी
अघिल्लो बर्ष ३२ करोड रुपैयाँको वडा स्तरीय बजेट बनाएको उपमहानगरपालिकाले यसबर्ष १२ करोड रुपैयाँ मात्रै वडा स्तरीय सिलिङ बनाउने तयारी गरेपछि वडा अध्यक्षहरुको असन्तुष्टि बढेको हो । घाटा बजेट बनाएर वडाको सिलिङ बढाउँदा उपमहानगरपालिकालाई दीर्घकालीन असर पर्ने र साना योजनामा बढि लगानी भई प्रतिफल नआउने भन्दै नगर प्रमुख पौडेल यसबर्ष घाटा बजेट बनाएर वडाको सिलिङ नबढाउने योजनामा छन् ।
मेयर भर्सेस कार्यपालिका
कानुनले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने नगर प्रमुखको योजनाका विषयमा जानकारी पाएपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले रक्षात्मक भूमिका खोजिरहेका छन् । विहिबार विहान ११ बजे बस्ने भनिएको नगर सभाको बैठक बहिष्कार गर्ने घोषणा नेकपा एमालेबाट निर्वाचित वडा नम्बर १६ का अध्यक्ष हरिदेब खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत गरेका छन् । जसबाट विहिबारको नगर सभा बहिष्कार गरेर जाने नीति एमालेले अपनाउने बुझ्न सकिन्छ । तर त्यसअघिनै विहान ९ बजेका लागि नगर प्रमुख पौडेलले तेश्रो पटक कार्यपालिका बैठक आह्वान गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका कार्य सम्पादन नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरेर कार्यपालिका बैठकबाट नगर सभामा प्रस्तुत हुने विषयको निर्णय गर्ने योजना नगर प्रमुखले बनाएका छन् । नेपालको संविधानको धारा २१८ अनुसार बनेको सो नियमावलीको नियम १० ले पहिलो पटक गणपुरक संख्या ५० प्रतिशतलाई, दोश्रो पटकमा ३३ प्रतिशतलाई र तेश्रोपटक जति संख्याको उपस्थिती रहन्छ त्यसैलाई गणपुरक संख्या मान्ने व्यवस्था गरेको छ । सोही नियममा टेकेर नगर प्रमूख पौडेलले विहान ९ बजे कार्यपालिका बैठकबाट निर्णय गर्ने र त्यसपछि ११ बजे नगर सभामा जाने योजना बनाएका छन् ।जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनील गुप्ताले विहान ९ बजेका लागि कार्यपालिका बैठकमा बोलाईएको बताउँदै आफूहरु त्यहाँ गएर कुरा राख्ने बताएका छन् । सकेसम्म सहमतीमा जानुपर्ने आफूहरुको सामुहिक धारणा रहेको गुप्ताले बताए ।
पेलेर जाने पौडेलको तयारी
उपप्रमुख भोला प्रसाद अधिकारी सहित कार्यपालिका सदस्यहरुलाई जेठ अन्तिम साता मुस्ताङ घुम्न पठाएर बजेटको तयारी गरेका नगर प्रमुख पौडेलले यसपटक पेलेरै अघि बढ्ने योजना बनाएको देखिएको छ ।
पहिलोपटक जीतपुरसिमरा उपमहानगरले नगर सभा आह्वान गर्दा नेपालको संविधानको धारा २३० बमोजिम उल्लेख गरेको छ । नेपालको संविधानको धारा २३० मा स्थानीय तहको बजेट सम्बन्धी व्यवस्था छ जसको उपधारा २ ले घाटा बजेट बनाउनुपर्ने अवस्थामा संघीय कानुन र प्रदेश कानुन बमोजिम घाटा पूर्ति गर्ने स्रोत समेत उल्लेख गर्नुपर्ने प्रष्ट व्यवस्था गरेको छ ।
नगर प्रमूखले वडाको सिलिङ कम गरेर घाटा बजेट नबनाउने अडान लिनुको पछाडी संविधानको धारा २३० प्रमुख कारण रहेको देखिन्छ । किनकी संघीय र प्रदेश कानुन अनुसार घाटा पूर्ति गर्ने स्रोतको सुनिश्चितता गर्ने अवस्थामा जीतपुरसिमरा उपमहानगर पुगिसकेको छैन र त्यसका लागि आवश्यक तयारी पनि तत्काल पुग्ने अवस्था देखिदैन ।
नगर प्रमुख राजन पौडेल कार्यपालिका सदस्यहरु प्रति लचिलो नबन्नुको अर्को कारण कानुननले नगर प्रमुखलाई दिएको अधिकार पनि हो ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सञ्चालन नियमावलीले दिएको अधिकार प्रयोग गरेर नगर सभा सम्पन्न गर्ने योजना नगर प्रमुख पौडेलले बनाएको देखिन्छ । दुई पटक सम्म नगर सभा सदस्यले बहिष्कार गरेपनि तेश्रो पटक २५ प्रतिशत सदस्यबाटै नगर सभा सम्पन्न गर्ने अधिकार उनीसंग छ । १२३ जना सदस्य कायम रहेको जीतपुरसिमराको यसपटकको नगरसभामा तेश्रोपटकमा आवश्यक संख्या सहजै पौडेलसंग छ ।
बाराकै पचरौता नगरपालिकाको नगर सभा सम्बन्धमा सर्वोच्च अदालतमा रहेको नजिरले नगर प्रमुख पौडेललाई थप हौसला मिलेको देखिन्छ ।
यसपटकको नगर सभामा पेलेरै अघि बढ्ने योजना बनाएका नगर प्रमुख पौडेलले विहिबारको नगर सभा स्थलमा सुरक्षाको व्यवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार समेत गरिसकेका छन् । बुधबार कार्यपालिकाको बैठकमा सहमती नभएपछि बैठकस्थलबाट बाहिरीएका पौडेलले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मार्फत नगर सभाको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको उपमहानगर स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस