नयाँ दिल्ली : बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु आक्रमण भएको छ।
प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उनको उपचार भइरहेको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लख छ।
समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत एक व्यक्ति सैफ अली खानको घरमा पसेर पहिले उनको घरेलु कामदारसँग झगडा गरेको, त्यसमा जब सैफले हस्तक्षेप गर्न खोजेपछि उक्त व्यक्तिले सैफमाथि आक्रमण गरेको जनाएको छ।
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २.३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो। यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए। चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ।
उक्त रिपोर्टमा घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, 'सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।'
सैफलाई राती ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो।
उनको शरीरमा छ ठाउँमा चोट लागेको छ। जसमध्ये दुई घाउ गहिरो भएको डाक्टरले जनाएका छन्। एउटा घाउ मेरुदण्ड नजिकै छ। उनको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ।
डाक्टरले सैफको घाँटीमा पनि चोट लागेको बताएका छन्। उनको बिहान ५:३० बजे शल्यक्रिया सुरु भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस