२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

सामान्य प्रशासन मन्त्रीकै निर्वाचन क्षेत्रमा शिक्षकले सात महिनादेखि तलब पाएनन्, सिडओलाई बुझाइदिए स्कुलको चाबी



  • नयाँ इतिहास
  • ३ महिना अघि
  • पाठक संख्या २६६
  • वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर त्यसको चाबी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाई दिएका छन् ।

    ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै नगरपालिकामा रहेका २० वटा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ अर्याललाई चाबी बुझाएका हुन् ।

    बहुदरमाई नगरपालिकामा मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि नै तलबभत्ता पाएका छैनन् । मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई आर्थिक कारोबारको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले ६ महिनादेखि तलबभत्ता नपाएका हुन् ।

    आइतबार नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा जुलुशसहित पुगेका शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आँफुहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालयमा ताल्चा मारेर त्यसको चाबी प्रमुख जिल्ला अधिकारी अर्याललाई जिम्मा लगाइ दिएको बताए ।

    यस्तै बहुरमाई नगरपालिका–८ रामनगरीको मुखदेव सुशीला प्राविधिक माविका शिक्षक लक्ष्मीकान्त साहले पनि ६ महिनादेखि तलबभत्ता नपाउँदा घरपरिवारमा कोहि बिरामी पर्दा उपचार गराउनपनि नपाएको दुखेसो पोखे ।  

    ६ महिनासम्म तलबभत्ता नआउँदा अहिलेसम्म जसोतसो गरेर थेगिएको तर अब थेग्नै नसक्ने अवस्था भएपछि बाध्य भएर विद्यालयमा ताल्चा मारेर चाबी प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाइएको उनले बताए ।  

    नगरपालिकाले ६ महिनादेखि विद्यालयहरुमा रकम निकासा नगरेकाले विद्यालयमा विद्यार्थीहरुलाई पढाउन चाहिने चकडस्टरपनि नभएको बहुदरमाई नगरपालिका–२ पिपराको नेराप्राविका शिक्षक मनोज पटेलले बताए ।  

    नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार,बहुदरमाई नगरपालिकाका शिक्षक–शिक्षिकाहरुको समस्याका बारेमा महासंघकै अगुवाई त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकारीलाई भेटेर पटक पटक ध्यानाकर्षण गराइएको बताए । यस्तै महासंघकै अगुवाईमा गत पुसमा पनि प्रमुख जिल्ला अधिकारी अर्याललाई पनि ध्यानाकर्षण गराइएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

    आइतबार शिक्षक–शिक्षिकाहरुले बुझाएको विद्यालयका चाबी जिम्मा लिदैं प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आँफुले यसअघि मेयर र प्रमुख प्रशासकीय अधिकृतका साथै त्यहाँका जनप्रतिनिधीसंग पटक पटक छलफल गरेको बताए । उनले भने,‘मैले यस विषयमा पटक पटक छलफल गरे तर कुनै उपलब्धी आउन सकेन । अब फेरि समस्या समाधानका लागि पहल गर्छु।मैले गर्ने यत्तिमात्रै त हो ।’

    नगरपालिकामा रहेका २० वटा सामुदलायिक विद्यालयमा शिक्षक–शिक्षिकाहरुले आइतबारदेखि ताल्चा मारेर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइ दिएपछि ती विद्यालयका करिब १० हजार भन्दा बढी विद्यार्थीहरुको पठनपाठन ठप्प भएको वडा नम्बर २ का युवा नेता राकेश यादवले बताए ।  

    यसअघि तलब नपाएको भन्दै शिक्षकहरुले चरणबद्ध आन्दोलन गरेका कारण पठन पाठन प्रभावित भएपछि त्यसको आक्रोशमा गत पुस ५ गते बिहानै विद्यार्थीहरुको एक समुहसंगै बाहिरकापनि व्याक्तिहरुले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए । जसका कारण नगरपालिकाको कार्यालयमा १ करोड भन्दा बढीको भौतिक क्षति भएको थियो ।

    बहुदरमाई नगरपालिकाका मेयर तेलीले भने समस्या समाधानका लागि आँफु निरन्तर लागि रहेको बताए । उनले भने,‘अब छिट्टै शिक्षक र कर्मचारीहरुलाई परेको समस्या समाधान हुन्छ ।’

    यता प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने पुस ५ गते नगरपालिका कार्यालयमा तोडफोड र आगजनीको घटनाभएपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा त्यसदिनदेखि नै आँफु कार्यालयमा नगएको बताए । मेयर तेलीले नगरपालिकामा भाँडभैलो मच्चाएर काम गर्न नदिएपछि आँफु एक महिनादेखि नै त्यहाँबाट ब्याक भएको उनले बताए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको निर्वाचन क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिकामा मेयर सिंगासन सा तेली र प्रमूख प्रशासकीय अधिकृत विचको यो विवादको कारण भने अर्कै छ । जसपा नेता एवं खानेपानी मन्त्री प्रदिप यादव र मन्त्री गुप्ताविचको द्वन्दको मारमा यहाँका शिक्षक र कर्मचारी परेका छन् ।  मेयर यादव जसपाका जिल्ला अध्यक्ष हुन् भने प्रमूख प्रशासकीय अधिकृत मुस्तफालाई सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता निकट रहेको आरोप छ ।