एचपी न्यौपाने
काठमाडौ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशाकीय अधिकृत उर्मिला काफ्लेलाई बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगमा काज सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । नयाँ इतिहासलाई प्राप्त जानकारी अनुसार ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको मन्त्रालयले सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघिनै उपसचिव काफ्लेलाई जीतपुरसिमराबाट अछामको पन्चदेवल बिनायक नगरपालिकामा सरुवा गरिसकेको थियो तर काफ्लेले अछाम नजाने अडान लिएर जीतपुरसिमरा छाडेकी थिईनन ।
मन्त्रालयले काफ्लेलाई अछामको पन्चदेवल बिनायक नगरपालिकाबाट मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरि बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगमा कामकाजका लागि पठाएको हो ।
गत बैशाखमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी काफ्लेलाई हटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निकै जोडबल गरेका थिए । तर मन्त्रीका हरेक कदमको प्रतिवाद गरेर जीतपुरसिमरामै टिकेकी काफ्ले अछाम नजाने अडानमा पनि सफल भएकी छन् ।
जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सहसचिव शान्तिराज प्रसाईंले आगामी सोमबारबाट जिम्मेवारी सम्हाल्नेछन ।
प्रतिक्रिया दिनुहोस