सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष सुनील गुप्ताविरुद्ध प्रहरीले तीनवटा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
आइतबार पक्राउ परेका गुप्ताविरुद्ध प्रहरीले डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्र लेखी गुप्ता पक्राउको जानकारी गराएको छ । ‘प्रशुराम गिरीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जिल्ला बारा जीतपुरसिमरा उपमनपा ७ बस्ने सोही वडाका वडाध्यक्ष सुनील कुमार गुप्ता भएको डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा चैत्र ३ गते पक्राउ परी सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्न सात दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भईरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’ प्रहरीले पठाएको पत्रमा भनिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाकाले वडा कार्यालयलाई पत्र लेखी स्थानीय सरकार सञ्चालन ऐन बमोजिम वडाको कामकाज गर्न गराउन निर्देशन दिएको छ । वडाध्यक्ष पक्राउ परेकाले अन्य वडा सदस्यहरुको बैठक बसी कार्यवाहक तोकी वडाको कामकाज गर्न सक्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनले गरेको छ ।
चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज गरेको आरोप गुप्तामाथी लागेको छ । राती ९ः३० बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।
लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् ।
प्रहरी स्रोतका अनुसार बारा प्रहरीले सो घटनामा संलग्न थप १० जनालाई पक्राउ गर्न बारा जिल्ला अदालतबाट अनुमती लिएको छ । यद्यपी उनीहरुको नाम गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङका अनुसार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर वडाध्यक्ष गुप्तालाई हिरासतमा राखिएको छ । आइतबार पक्राउ परेका गुप्तालाई सोमबार प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस