नारायण पौडेल
सिमरा : आफ्नो निर्वाचन क्षेत्रमा आएका पुर्व प्रधानमन्त्रीको स्वागतमा पुगेर बारा ४ का सांसद किसान श्रेष्ठले नयाँ राजनीतिक संस्कारको शुरुवात गरेको भन्दै माओबादी नेताहरुले खुशी व्यक्त गरेका छन् ।
माओबादी केन्द्र जीतपुरसिमरा नगर कमिटीले पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डको स्वागतमा सिमरामा आयोजना गरेको सभामै पुगेर सांसद श्रेष्ठले बुधबार प्रचण्डलाई स्वागत र सम्मान गरेका थिए ।
माओबादी नगर कमिटी सदस्य हरिकृष्ण केसीले फरक दलको कार्यक्रममा उपस्थित भएर सांसद श्रेष्ठले पूर्व प्रधानमन्त्रीप्रति देखाएको सद्भाव प्रशंसनीय रहेको बताए । ‘सांसद किसान श्रेष्ठलाई पार्टीका तर्फबाट हामीले कार्यक्रमको जानकारी गराएकै थिएनौं, वहाँ जसरी मञ्चमै आएर पार्टी अध्यक्षलाई स्वागत र सम्मान गर्नुभयो त्यसबाट हामी नयाँ पुस्ताले नयाँ राजनीतिक संस्कार सिक्ने अवसर पाएका छौं’ केसीले भने ।
माओबादीको तराई मधेश जागरण अभियान अन्तर्गत विहीबार बारामा हुने कार्यक्रममा सहभाागि हुन सिमरा आइपुगेका पूर्व प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै बारामा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजना र वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका समस्याका बारेमा सांसद श्रेष्ठले ध्यानाकर्षण गराएका थिए ।
पूर्व प्रधानमन्त्री दाहाललाई सिमरामा आयोजित कार्यक्रमको मञ्चमै पुगेर सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा आएर यहाँका जनतालाई सम्बोधन गरेको प्रति धन्यबाद दिएका थिए ।
कार्यक्रमपछि छुट्टीने बेला पुर्व प्रधानमन्त्री दाहालले सांसद श्रेष्ठलाई काठमाडौंमा चैत्र १५ मा आयोजना हुने समाजवादी मोर्चाको विरोध सभामा भेटौंला भन्दै विदा भएका थिए ।
कार्यक्रममा बाराको सिमरामा आयोजना हुने जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले पूर्व प्रधानमन्त्री दाहाललाई समापन समरोहको प्रमूख अतिथीका रुपमा निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस