जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले समृद्ध उपमहानगरपालिका निर्माणमा सबै दलहरुविच साझा सहमती निर्माण भएको बताएका छन् ।
उपमहानगरपालिकाको शनिवार सम्पन्न एघारौं नगर सभालाई नेकपा माओबादी केन्द्रका तर्फबाट सम्बोधन गर्दै वडाध्यक्ष लामिछानेले दशौं नगरसभाका क्रममा भएका असहमती र विवाद त्यागेर साझा सहमतीका साथ एघारौं नगर सभामा आएको बताए । ‘हिजोका कुरालाई सबैले त्यागेर मेलमिलापको बाटोमा आएका छौं, अब समृद्ध उपमहानगर निर्माणको साझा सहमती निर्माण भएको छ’ वडाध्यक्ष लामिछानेले भने ।
उपमहानगरको विकासका निम्ति आन्तरिक आय बढाउन आवश्यक देखिएको स्मरण गराउँदै वडाध्यक्ष लामिछानेले आन्तरिक आय बृद्धिमा अब सबै जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताए । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, भौतिक पूर्वाधारको स्तरोन्नती लगायतका क्षेत्रमा हामीले धैरै काम गर्न बाँकी छ तर त्यसभन्दा पहिले आम्दानीको स्रोत बढाउन आवश्यक छ’ लामिछानेले भने ।
प्रतिक्रिया दिनुहोस