बाराको बरियारपुरमा जारी विश्व प्रसिद्ध गढीमाई मेलामा ‘कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ । मंगलबार संघीय सरकारकी वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले कृषि एक्स्पोको एक कार्यक्रमका विच उद्घाटन गरिन् ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउनको लागि एक्स्पो संचालन गरिएको कनेक्ट किसानकी अध्यक्ष सन्जिता लामिछानेले बताईन ।
कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा बाताबरण राज्य मन्त्री बिश्वकर्माले गढीमाई मेलामा संचालित कृषि एक्स्पो किसानहरु संग डाईरेक्ट कनेक्ट हुने भएकोले बारा जिल्लाका किसानको साथै मेला अवलोकन गर्न आउने भक्तजनहरुका लागि सिकाईको थलो बन्ने विश्वास व्यक्त गरिन् ।
कृषि एक्स्पोको नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह समेतले उद्घाटन अघि अवलोकन गरेका थिए । गढीमाई मेला भर्न बारा आएका उपप्रधानमन्त्री सिंहबाटै कार्यक्रमको समुद्घाटन गर्ने तय भएपनि ब्यस्ततका कारण उनी चाँडै काठमाडौं फर्किएका थिए ।
एक्सपो उद्घाटन कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले संघ र प्रदेश सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे । कृषि मन्त्रीहरुले आफ्नो कार्यकर्ताहरुलाई मात्र बजेट दिने गरेको आरोप नगर प्रमुख यादवको थियो ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले सरकारी क्षेत्रबाट हुनुपर्ने काम नीजि क्षेत्रबाट भएको भन्दै कनेक्ट किसानलाई धन्यबाद व्यक्त गरे । देशका विभिन्न क्षेत्रका उत्पादनलाई बाराको गढीमाई मेलामा जोड्न कनेक्ट किसानले गरेको भूमिकाको प्रशंसा लामिछानेले गरेका थिए ।
एक्सपोमा कृषि सेमिनार समेत आयोजना हुनेछ जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउनेछन् । एक्सपोमा माटो परिक्षण, कृषि प्रविधिको प्रदर्शनी तथा कृषी उत्पादनको बजारीकरण जस्ता पक्षहरु समावेश गरिएका छन् । कनेक्ट किसानले आँफै तयार गरेको कृषि रोबोट तथा एआईको समेत प्रदर्शनी गरिएको छ ।
२४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिएको कनेक्ट किसानकि अध्यक्ष सन्जिता लामिछानेले बताइन् ।
आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।
निःशुल्क प्रवेश व्यवस्था गरिएको एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत गर्ने साना औजार, मेसिनदेखि डेरी मेसिनरी, पशुपन्छीपालन, फलफूल खेती र कृषिजन्य उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी ,जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा लगाएत मेला ब्यवस्थापन समितिको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण बाराका पत्रकार सुनील गाउँलेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस