१६ जेठ २०८२ बिहिबार | 29 May 2025 Thu

जीतपुरसिमराको दशौं नगर सभा उच्च अदालतद्वारा सदर, कुर्सी फोड्ने समुहको रिट खारेज



  • नयाँ इतिहास
  • ५ महिना अघि
  • पाठक संख्या ८८२
  • सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगर सभा बदरको माग राख्दै दायर भएको रिट उच्च अदालतले खारेज गरेको छ । 

    गत असार १० गते सम्पन्न भएको उपमहानगरको दशौं नगरसभा बदरको माग राख्दै वडाध्यक्ष हरिदेब खरेल सहित ९१ नगर सभा सदस्यले गत असार २३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगञ्जमा रिट दायर गरेका थिए । 
    आइतबार भएको रिट माथिको अन्तिम सुनुवाईपछि न्यायाधिशद्वय ऋषिराम निरौला र भरत लम्सालको संयुक्त इजलाशले रिट खारेजको फैसला गरेको हो । नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले सहितलाई विपक्षी बनाईएको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरिएको छ । 

    सूचना दिंदा कानुनी प्रकृया पुरा गर्न निर्देशन

    उच्च अदालतले दशौं नगर सभाको विरुद्ध परेको रिट खारेज गर्दै आगामी दिनमा केही कार्य सच्याउन उपमहानगरलाई निर्देशन पनि दिएको छ । दशौं नगर सभाको सम्बन्धमा असन्तुष्ट पक्षले आफूहरुले नगर सभाको सूचना समयमा नपाएको दाबी गरेकाले आगामी दिनमा नगर सभा सदस्यलाई सूचना दिंदा कानुनले तोकेको प्रकृया पुरा गर्न निर्देशन दिएको छ । कानुनका जानकारहरुका अनुसार यस्तो निर्देशनको अर्थ भावी दिनमा यस्ता विवाद उत्पन्न नदिन सूचना तामेल गराउने तर्फ उपमहानगरलाई अदालतले सचेत गराएको हो ।

    क–कसले गरे बहस ?

    जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगर सभाका विषयमा अन्तिम सुनुवाई हुने दिन दुईजना बरिष्ठ अधिवक्ता सहित ७ जना अधिवक्ताले बहस गरेका थिए । विहान ११ः३० देखि झण्डै पाँचघण्टा सम्म चलेको बहसमा उपमहानगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता रामेश्वर सेढाँई, अधिवक्ता रामचन्द्र सिंह, अधिवक्ता विद्या कटुवाल र पुजा सिंहले बहस गरेका थिए भने विपक्षीका तर्फबाट बरिष्ठ अधिवक्ता दामोदर पौडेल, अधिवक्ताद्वय शिव कोइराला र प्रमोद साहले बहस गरेका थिए ।